काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन आग्रह गरेका छन्।
एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८औं स्मृति दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै नेता नेपालले घटनाको यथार्थ पत्ता लगाउन आग्रह गरेका हुन्।
जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बित्दा पनि घटनाको रहस्य बाहिर नआउनु दुखद् भएको उनले बताए। घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको नेता नेपालले बताए।
'दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु,’ उनले भनेका छन्। नेकपा एमालेको विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरुप पार्टी र सरकारलाई अघि बढाउन सके मात्रै मदन–आश्रितले देखेका सपना साकार हुने नेपालले बताए।
देशको संविधान र पार्टीको विधानको सम्मान गर्दै विगतका गल्तीहरूलाई सच्चाएर हिंड्ने प्रण गरेमा मात्र मदन–आश्रितप्रति सच्चा श्रद्धाञ्जली हुने नेपालको भनाइ छ।
२०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जिप दुर्घटनामा मदन–आश्रितले ज्यान गुमाएका थिए।