काठमाडौं - नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८औं स्मृति दिवसका अवसरमा नेकपा एमालेले कोरोना संक्रमणलाई ध्यानमा राखेर सुरक्षा मापदण्ड अपनाउँदै कार्यक्रम गर्ने भएको छ।
प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली आज बल्दु जाँदै छन्। बल्खुस्थित पार्टी मुख्यालय पुगेर त्यहाँ रहेको मदन–आश्रित सालिकमाथि माल्यार्पण गर्ने कार्यक्रम रहेको छ।
एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली बिहान ९ बजे बल्खु जाने कार्यक्रम रहेको जानकारी दिए। ‘औपचारिक कुनै कार्यक्रम राखिएको छैन, अध्यक्ष ओलीसहितका नेताहरुले सालिकमा माल्र्यापण गर्नुहुने कार्यक्रम मात्रै हो,’उनले भने।
लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनमा कटिवद्ध रहेका मानिने भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्तको प्रतिपादन गरेका थिए।
नेकपा एमालेले राजनीतिक कार्यादिशा जबजलाई मान्दै आएको छ। राजनीति जीवनमा छोटो समयमा नै लोकप्रिय बनेका नेता भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा मृत्यु भएको थियो। ‘दासढुंगामा घटना’को छानबिन गर्न धेरै आयोग बने पनि अहिलेसम्म वास्तविकता बाहिर आउन सकेको छैन।