ताप्लेजुङ - ‘म स्वस्थ, मेरो गाउँ स्वस्थ’ नारासहित ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले स्वास्थ्य सेवा अभियान सुरु गरेको छ।
पालिकाको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा २४ सै घन्टा नागरिकलाई सेवा प्रदान गर्नका लागि गाउँपालिकाले रेडियोग्राफी सेवा सुरु गरेको छ।
तेल्लोकमा सुरु गरिएको सेवा सञ्चालनका लागि कर्मचारीसहितको सेवा सुविधा गाउँपालिकाले बेहोर्ने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सञ्जीव सिंहले बताए।
विगतका दिनमा पालिकाभित्रका नागरिक रेडियोग्राफी र ल्याब सेवा लिनका लागि धेरै खर्च गरेर ताप्लेजुङको सदरमुकामस्थित जिल्ला अस्पतालमा जानुपर्थ्याे। अहिले आफ्नै गाउँपालिकामा त्यस्तो सेवा लिन पाउँदा स्थानीयवासी खुसी भएको सिंहकाे भनाइ छ।
गाउँपालिकाकै स्रोतबाट प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रवाह हुने सेवाका लागि मेडिकल अधिकृत, रेडियोग्राफी र ल्याब सेवासमेत उपलब्ध गराइएको उनले बताए। रासस