स्थान : नयाँ बानेश्वर, सिभिल हस्टिपल अगाडि
समय : आइतबार दिउँसो १ बजे
चर्को घामको पर्वाह छैन। शरीरमा पीपीई, मुखमा मास्क, अनुहारमा फेस सिल्ड लगाएर उभिएका उनी सडकमा गुडिरहेका सवारी एकपछि अर्को गर्दै रोकिरहेका छन्। पश्चिमतिरबाट आएको मोटरसाइकल रोक्न पनि भ्याएकै छन्, पूर्वतिरबाट आएको कारचालकको परिचयपत्र पनि मागेकै हुन्छन्।
सायद शरीर पसिनाले भिजिसक्यो। घन्टौं उभिएका खुट्टा लखतरान भएरका होलान्। जब सडकमा सवारीको दौड अलि खाली भएजस्तो हुन्छ, सडक पेटीतिर नजर लगाउँछन् उनी। मिनरल वाटरका बोटल छन् त्यहाँ। तिर्खाएर होला पानी पिउन थालिहाल्छन्। अनि, फेरि उसैगरी सवारी चेकिङको कर्म सुरु भइहाल्छ। सडकमा उनी र उनीजस्तै साथीको खटाइ हेर्दा लाग्छ, यो सहरमा कोरोना भाइरसको लहर छँदै छैन। हुन्थ्यो भने, उनीहरु कसरी यतिसम्म जोखिम मोलेर सडकमा खट्न सक्छन्!
उनको कर्म र खटनलाई एकटक नियालेपछि हामी उनको छेउमा पुग्यौं। आफ्नो परिचय दियौं। अनि, सडकमा यसरी काम गर्दाका दुःख र जोखिमबारे बुझ्न खोज्यौं। ‘आफ्नो पीडा आफैंसँग छ, अरूलाई सुनाएर के फाइदा?’ यति भनेर उनी हामीसँग तर्किन खोजे। क्यामेराअघि बोल्न मानेनन्। हामीले उनको आशय बुझ्यौं। त्यसपछि अनौपचारिक हिसाबले गफ गर्नतिर लाग्यौं।
नाम रहेछ, आँसु खड्का। तर, उनी आँसु देखाउन होइन, लुकाउन चाहन्छन्। गोर्खास्थित पालुङटारका उनले प्रहरीमा जागिर खाएको करिब ७ वर्ष भएछ। हाल महानगरीय ट्राफिक प्रहरी वृत्त कोटेश्वरमा प्रहरी जवानका रुपमा कार्यरत छन्। ०७२ सालको भूकम्पका बेला उनी सिन्धुपाल्चोकमा भूकम्पपीडितको उद्धारमा समेत खटिएका रहेछन्।
अहिले दुई सिफ्ट गरेर दिनहुँ ८ घण्टा सडकमा खटिइरहेका छन् उनी। ‘डर लाग्दैन, यसरी खट्दा?’ हाम्रो जिज्ञासामा उनी जवाफ दिन्छन्, ‘डर त भइहाल्छ नि! चेकिङका क्रममा केही मान्छे ‘परिवारको सबैलाई कोरोना लागेको छ, ममात्रै नेगेटिभ हो, त्यसैले हस्पिटल गएको’ भन्दै आइपुगेका हुन्छन्। तैपनि चेक गर्नैपर्छ। हामी डराएर कहाँ हुन्छ, जब कि हाम्रो जागिर नै अरुको सुरक्षासँग जोडिएको छ।’
त्यसो त अघिल्लो साल जेठमा सडकमा खट्दाखट्दै उनलाई कोरोनो संक्रमण भएको रहेछ। त्यतिबेला १५ दिन प्रहरीको आइसोलेसनमा बसेका थिए उनी। तर, परिवारलाई भने निको भएपछि मात्रै सुनाएछन्। ‘कोरोना लागेको छ भनेर सुनायो भने त घरमा डराइहाल्छन् नि, त्यसैले निको भएपछि सुनाएको,’ उनले भने।
उनी अहिले पत्नीसँग कोठामा बस्छन्। हरेक दिन सडकमा ड्युटी गरेर कोठा पुग्दा उनकी पत्नी पनि आत्तिन्छिन्। अलि दुरी राखेर चेक गर्नु भन्दै सम्झाउँछिन्।
निको भएको चार महिनापछि बिहे गरेका उनी अहिले पत्नीसँग कोठामा बस्छन्। हरेक दिन सडकमा ड्युटी गरेर कोठा पुग्दा उनकी पत्नी पनि आत्तिन्छिन्। अलि दुरी राखेर चेक गर्नु भन्दै सम्झाउँछिन्। ‘उता घरबाट पनि जोगिएर काम गर्नु भन्दै चिन्ता पोख्छन्। फिल्डमा खटिँदाको बाध्यता जे भए पनि हुन्छ भनेर मुन्टो हल्लाउनुको विकल्प हुन्न,’ प्रहरी जवान खड्का सुनाउँछन्।
०००
कोरोना महामारी नियन्त्रणविरुद्धको अभियानमा अहिले सुरक्षाकर्मीहरु सडकमा अग्रमोर्चामा खटिएका छन्। पहिलो लकडाउनताका नै सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा खटिने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई तीन तहमा बाँडेर दैनिक तीन सय रुपैयाँदेखि शतप्रतिशतसम्म जोखिम भत्ता दिने निर्णय गरेको थियो। तर, अहिलेसम्म यी सुरक्षाकर्मीहरुले जोखिम भत्ता पाउन सकेका छैनन्। दिनरात सडकमा जोखिम मोलेर काम गर्दा पनि भत्ता नपाएका सुरक्षाकर्मीहरु सडकमा फुर्तिसाथ खटिएका छन् । सरकारसँग उनीहरुको गुनासो छ तर निराश भएका छैनन् ।
हामी फ्रन्टलाइनमा खटिरहेका प्रहरीका अनुभूति सुन्न नयाँ बानेश्वर, कोटेश्वर, बबरमहललगायतका चेक पोस्टहरुमा पुग्यौं। अधिकांश प्रहरी माथिको आदेशविना बोल्न नमिल्ने भन्दै खुलेर कुरा गर्न चाहेनन्। नयाँ बानेश्वरमा खटिएका प्रहरी नायब निरिक्षक टीएस नेपालले भने, ‘हाम्रो पीडा सुन्न मन छ? त्यसो भए माथिबाट आदेश लिएर आउनुस्।’
१७ वर्षदेखि प्रहरी सेवामा कार्यरत प्रहरी हवल्दार सन्तोष विक पनि अहिले दिनहुँ सडकमा भेटिन्छन्, सवारी चेकिङ गर्दै। महानगरीय ट्राफिक प्रहरी वृत्त कोटेश्वरमा कार्यरत उनको कहिले कोटेश्वर, कहिले बालकुमारी, कहिले जडिबुटी त कहिले बानेश्वर ड्यटी क्षेत्र पर्छ। स्थायी घर ताप्लेजुङ बताउने उनले अन्त डेरा लिएका छैनन्, कार्यलयमै बस्छन्।
कोरोना लागेर ज्यान गुमाएका खबर सुनेपछि घरबाट दिनहुँ जोखिम छ, बचेर काम गर्नु भन्दै चिन्ताग्रस्त फोन आउँछन्।
असोजमा कोभिड संक्रमण भएको थियो उनलाई। १५ दिन आइसोलेसन बसे। परिवारलाई त निको भएपछि मात्रै सुनाएको। अनि ‘केही हुँदैन, आत्तिनुपर्दैन’ भनेर सम्झाउँछन् उनी। तर परिवारले सहजै कहाँ पत्याउँथ्यो र !
‘तर, हामीकहाँ धेरैजसो प्रहरी साथीहरुलाई कोरोना लागिसक्यो, अब त पचाइन्छ भन्ने नै छ,’ उनी भन्छन्, ‘तर पचाइन्छ भन्दैमा हामीले लापरबाही गरेका छैनौं। सकेसम्म सुरक्षाको उपाय अपनाएर नै काम गरिरहेका छौं।’
बरु चेकिङका क्रममा सडकमा देखापर्ने सवारीचालकबाटै उनीहरुलाई जोखिम छ। भन्दै थिए, ‘कतिपय चालक ‘मलाई कोरोना लागेको छ, अलि पर बस्नुस्’ भन्दै आइपुग्छन्। त्यसपछि छेउमा जाने कुरा पनि हुन्न। अस्पताल जान लागेको भन्छन्, पत्याउनैपर्छ।’
‘ठूलो दर्जाका मान्छेलाई सेटमा बोल्दिए पुगिहाल्छ। हामी साना दर्जाकालाई त काम नगरी सुख हुन्न। एकछिन सडकमा देखेनन् भने ‘खोइ कहाँ गयो’ भनेर खाेज्छन्। पिसाब फेर्न गएकै बेला हाकिम आइदिए भने कारबाही गरिहाल्छन्।’
सडकमा खटिएका धेरैजसो प्रहरीको साझा गुनासो थियो– ‘ सेवासुविधा कम छ, तर काम बढी भयो।’ ८ घन्टा पानीकै भरमा उभिन बाध्य रहेछन् उनीहरु। प्रहरी हवल्दार विक मिनरल वाटरको बोतल देखाउँदै भन्दै थिए, ‘पसल बन्द छ, खाजा कहाँ खानु? यही पानीकै भरमा चित्त बुझाउने हो।’
ड्युटीमै भेटिएका अर्का एक प्रहरीले नाम नलेखिदिन आग्रह गर्दै प्रहरीलाई दिने जोखिम भत्ता त गफमात्रै भएको गुनासो पोखे। ‘निजामती कर्मचारी भए आन्दोलन गर्छन्, दुनियाँ गर्छन्। तर, हाम्रो त एउटा अन्तर्वार्ता पनि दिन्न पाइँदैन। तल्लो दर्जाको कर्मचारीलाई फौजीमा साह्रै दुःख छ। जाेखिम भत्ता पनि पाएका छैनाैं।,’ उनी भन्दै थिए, ‘ठूलो दर्जाका मान्छेलाई सेटमा बोल्दिए पुगिहाल्छ। हामी साना दर्जाकालाई त काम नगरी सुख हुन्न। एकछिन सडकमा देखेनन् भने ‘खोइ कहाँ गयो’ भनेर खाेज्छन्। पिसाब फेर्न गएकै बेला हाकिम आइदिए भने कारबाही गरिहाल्छन्।’
प्रहरी चेकिङका क्रममा नयाँ बानेश्वरमा ६५४१ नम्बरको एउटा मोटरसाइकल आइपुग्यो। चालक बाइक नरोकी हुइँकाउन खोज्दै थिए। प्रहरीले रोकिहाल्यो। चालकले मास्क लगाएका थिएनन्। प्रहरी नायब निरीक्षक टीएस नेपाल कड्किए, ‘खोइ मास्क?, होल्डिङमा राखिदऊँ?’ परिचयपत्र देखाउँदा थाहा भयो, स्वास्थ्य क्षेत्रमै कार्यरत रहेछन् ती त।
उनलाई एकछिन सम्झाएर छाडिदिए। तर, सडकमा सुरक्षाकर्मी कति जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेका छन्, सायद यो दृश्य त्यसको सानो दृष्टान्त हो ।
कति प्रहरी संक्रमित?
कोरोनाको पहिलो लहरताका प्रहरी प्रधान कार्यालयबाट देशभर कति प्रहरी संक्रमित छन्, त्यसको डाटा सार्वजनिक भएको थियो। यसपटक कार्यालयले त्यो डाटा पनि सार्वजनिक गरेको छैन। ‘फिल्डमा खटिएका प्रहरीको मनोबल नगिरोस् भनेर हामीले डाटा सार्वजनिक नगर्ने निर्णय गरेका छौं’, नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर भन्छन्, ‘भरसक नलागोस् भनेर सुरक्षाका उपाय अपनाइरहेका छौं। लागिहाल्यो भने पनि प्रभावकारी उपचार गरिरहेका छाैं।’
अनि जोखिम भत्ता नपाएका विषयमा हेडक्वार्टरले केही पहल गरेको छैन भन्ने जिज्ञासामा उनले भने, ‘नपाएको सत्य हो तर तलब पाएकै छौं। त्यसैले अहिले भत्ताभन्दा पनि सेवालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं।’