आइतबार, असार २, २०८१

टिन एजर्सको 'बुक कमब्याक'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- निहुरिएको शिर, सलबलाएका हातका औंलाहरू, आँखामा ठ्याक्कै पर्ने उज्यालो प्रकाश । यो कुनै सुन्दरी या दुलहीको बयान होइन । एक युवक मोबाइलमा पुस्तक पढ्दै गरेको चित्र हो । 

दैनिक प्रयोगका आधुनिक उपकरण अब सञ्चार प्रयोजनमा मात्र सीमित छैनन् । मोबाइल, ट्याब र किन्डललगायत उपकरणमै पुस्तक पढ्न सकिन्छ, अहिले । अब परम्परागत पुस्तकालयको भीड घट्दै गएको छ । हात-हातमै छन्, ई-लाइब्रेरी । 

काठमाडौंस्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट स्नातक सकेका नवराज केसी आधुनिक उपकरणमै अध्ययन गर्छन् । उनको त्यो शैली सार्वजनिक सवारी साधनको यात्रामा पनि निरन्तर हुन्छन् । बसमा धेरैले उनलाई व्यंग्य गर्छन्, 'बसमा चाहीं अरूको अघिल्तिर पढेको स्वाङ कहिल्यै गर्नु नपरोस् ।' उनी भने सुनेको नसुन्यै गर्छन् र 'स्वाङ नभई व्यक्तिगत रूचि' भएको जवाफ पनि फर्काउँछन् । 

उनले पहिलो पटक 'प्लस टु'पछिको लामो छुट्टिमा पाठ्यक्रम बाहिरका पुस्तक अध्ययन थालेका हुन् । पहिलो किताब थियो, कलाकार हरिवंश आचार्यको 'चिना हराएको मान्छे' । त्यसपछि त उनलाई त्यसरी पढ्ने बानी नै पर्‍यो । 

आनी छोइङ डोल्माको 'फूलको आँखामा' पुस्तकले उनलाई सबैभन्दा बढी प्रभावित बनायो । आध्यात्मिक पुस्तकहरूमा उनको रुचि बढी छ । ओशो रजनिशका पुस्तकहरूमध्ये 'सेक्स टु समाधि'ले पनि उनलाई प्रभावित पारेको छ, जसले यौनप्रतिको सोचाइमै परिवर्तन ल्याइदियो । 

उनमा हाते पुस्तकप्रति मोह छ । 'ई-बुक'भन्दा परम्परागत किताबमै पढ्न सहज लाग्ने उनी बताउँछन् । 'ई-बुक'ले आँखामा समस्या ल्याउने उनको बुझाइ छ । 

केसीको रोजाइमा 'नन-फिक्सन' पर्छ । खासगरी, सामाजिक बेथितिलाई विषयवस्तु बनाइएका पुस्तकले बढी ध्यान तान्छन् । माया, प्रेम र भावनात्मक प्रकृतिका उपन्यासमा खासै लगाव नरहेको बताउँछन् । 

युवा पुस्तामा सामाजिक सञ्जालप्रतिको लगाव एक ध्रुवसत्य हो । केसी भने नयाँ पिँढीलाई फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालबाट पुस्तकतिर तान्नुपर्ने सुझाउँछन् । 
 

मोबाइल, ट्याब, किन्डललगायत उपकरण हाते पुस्तकका लागि चुनौती बन्दै गर्दा युवा पुस्तालाई पढन्ते बनाउँदै 'ई-बुक'


'ई-बुक' भर्सेस हाते किताब

बालबालिकाले मोबाइल खेलाउन सिकेका के हुन्छन्, आफूभन्दा ठूलासँग सोधिहाल्छन्, 'तपाईंको मोबाइलमा गेम छैन ?' अर्थात्, उनीहरूलाई प्रविधिले नै पुस्तकबाट टाढा बनाएको छ । उनीहरू किताबमा ज्ञान खोज्ने साटो मोबाइल 'गेम'मा 'क्रेजी' बनेका छन् । 

किशोर उमेरदेखि नै अध्ययनतर्फ डोर्‍याउन 'ई-बुक' सहयोगी बनेको छ, अहिले । 

ट्याब्लेटमा औंला चलाउँदै गरेका प्रमेश श्रेष्ठलाई भेट्दा उनी पनि 'गेम'का क्रेजी भएझैं लाग्यो । तर, होइन रहेछ, उनी त 'किन्डल'मा पुस्तक पढिरहेका रहेछन् । भन्छन्, 'प्रविधिले युवालाई बिगारेको आरोप गलत हो ।'

डा. रिचार्ड डकिन्स उनलाई सबैभन्दा मनपर्ने लेखक हुन् । 'इभोलुसन बायोलोजिस्ट' हुन्, डा. डकिन्स । उनी डकिन्सका पुस्तकहरू 'सेल्फिस जिन', 'गड डिलिजन', 'दी ब्लाइन्ड वाच मेकर' पढ्न साथीभाइलाई सुझाउँछन् । उनले पढ्ने पुस्तक केही फरक धारका छन् । किनभने, श्रेष्ठ 'बेसिक साइकोलोजिकल काउन्सेलिङ'का विद्यार्थी हुन् । 

अमेरिकी लेखक स्टेभन कोभेको 'सेभेन ह्याबिट्स अफ हाइली इफेक्टिभ पिपुल'ले उनलाई निकै प्रभावित पारेको छ । उक्त पुस्तकमा व्यवहार परिवर्तनबारे विस्तृत वर्णन छ । बिग्रेका हरेक कामको दोष अर्को व्यक्तिलाई लगाउने मानवीय आदत नै हो । श्रेष्ठले उक्त पुस्तकबाट त्यसमा आफ्नो दोष छ कि छैन भन्ने नियाल्न सिके । २५ वर्षका प्रमेश 'बुक एडिक्ट' नै हुन् । 

काठमाडौंको बालाजुमा व्यवस्थापनका प्रशिक्षार्थीहरूको एउटा समूह नै तयार भएको छ, पुस्तक पढ्ने÷पढाउने । उनीहरूको लक्ष्य हो, बौद्धिक जमात तयार पार्ने । पाँच सदस्यीय समूहमा सातामा एउटा पुस्तक पढ्नै पर्ने नियम लगाइएको छ । कसैले नपढे पाँच सय रुपैयाँ जरिवाना तिर्नुपर्छ । र, हरेक साता आफूले पढेको पुस्तकबारे समीक्षा गर्नैपर्छ, साथीहरू माझ । 

युट्युबबाट ज्ञान प्राप्त गर्ने शैली पनि पछिल्ला दिनमा बढेको पाइन्छ । युट्युबका च्यानलहरू 'भिसस', 'बिग थिंक', 'फ्रिडम इन थट'लगायतमा युवाको आकर्षण देखिन्छ । 

काठमाडौं विश्वविद्यालयमा 'फाइन आर्ट्स' अध्ययनरत अशोक श्रेष्ठ 'एडभेन्चर्स' पुस्तकमा रमाउँछन् । उनको रोजीका किताबहरू संग्रहित पुस्तकालय नै छ, घरमा । राति 'होम वर्क' सकेर तिनै पुस्तकमा मन्त्रमुग्ध हुन्छन्, केही समय । 

उनको परिवार नै पढन्ते छ । त्यसैले घरमा पढाइको वातावरण पनि राम्रो छ । खासगरी, 'डिस्टोपियन साइन्स फिक्सन'मा उनको रूचि छ । 

सानै छँदा पढेको 'स्नो ह्वाइट एन्ड सेभेन ड्वार्फ'देखि नै उनी फ्यान्टासी फिक्सनतिर आकर्षित् भए । 'अकबर र वीरबल', 'मामा र भाञ्जा', 'मुना' र अन्य दन्त्यकथाका संग्रहहरू पनि उनले सानैमा पढेका हुन् । 

'फुल टिल्ट' उनले पढेको पहिलो उपन्यास हो रे । र, सबैभन्दा मनपर्ने पुस्तक पनि । नील सटरम्यान उनका 'बेस्ट राइटर' हुन् । उनले प्रस्तुत गरेका पात्र र कथावस्तु आफैंले भोगिरहेझैं लाग्ने उनी बताउँछन् । 

सम्राट उपाध्यायद्वारा लिखित 'दी गुरु अफ लभ'ले उनको महिलाप्रतिको धारणामै परिवर्तन ल्यायो । नेपाली महिला र पुरूषबीचको प्रेम सम्बन्ध सुन्दर रूपमा वर्णित छ, उक्त पुस्तकमा । त्यसअघि सन्की पाराका अशोकलाई उक्त किताबको अध्ययन गर्न पाउनु ठूलो भाग्यजस्तो लाग्छ रे, आजकाल । 

उनी हाते पुस्तकका पारखी हुन् । 'ई-बुक' या पीडीएफ उनलाई कम्प्युटर गेम या टीभी हरेजस्तो लाग्छ रे । भन्छन्, 'हाते किताब पढ्दाजस्तो सामिप्यता कहाँ पाइन्छ र !'

'दी एल्केमिस्ट' उपन्यास अंग्रेजी पुस्तकका पारखीमध्ये अधिकांशले पढेकै हुन्छन् । भक्तपुरस्थित ख्वप कलेजमा स्नातककी विद्यार्थी पलिस्था रञ्जितकार पनि उक्त उपन्यासकी प्रशंसक हुन् । 

कलेज 'टपर' पलिस्थाको 'हबी' नै हो, पुस्तक अध्ययन । सानैदेखि कथा र कवितामा रूचि राख्थिन् । नारायण वाग्लेको 'पल्पसा क्याफे'को कथावस्तु उनलाई उत्कृष्ट लाग्छ रे । दर्शन शास्त्रका पुस्तक उनको रोजाइमा पर्छन् । 

पाकिस्तानी मुलका नर्वेली लेखक खालिद हुसेन उनका 'फेबरेट' हुन् । उनको लेखाइमा पलिस्थाले जीवन्तता पाउँछिन् । निर्जीव वस्तुमा पनि जीवन्तता । हुसेनका 'दी काइट रनर', 'थाउजेन्ड स्प्लेन्डिड सन्स्', 'दी माउन्टेन इकोज्'  उनलाई निकै मन पर्ने पुस्तक हुन् । 

पुस्तक पढ्ने पलिस्थाको अनौठो बानी छ । पढ्न थालिन् भने नसकी उठ्दिनन् । अंग्रेजी भाषाका पुस्तकमै बढी हराउँछिन् । पुस्तकमा प्रविधि उनले अझै भित्र्याएकी छैनन् । अर्थात्, हाते पुस्तकमै रमाउँछिन् । साइन्स फिक्सन पनि उनी हाते पुस्तकबाटै पढ्छिन् । 

रेजिना गरू कानुनकी विद्यार्थी हुन्, नेपाल ल क्याम्पसमा । स्नातककी विद्यार्थी उनी सानैदेखि किताब पढ्न रूचाउँथिन् । 'फल्ट्स इन आवर स्टार', 'डुम्स डे', 'प्रयोगशाला', 'खुशी', 'ऐना', 'क्यान लभ ह्यापन  ट्वाइस' आदि उनले पढेका केही यादगार पुस्तक हुन् ।

'करिब ६ वर्ष भयो मैले उपन्यास पढ्न थालेको,' उनी भन्छिन् । विद्यालय तहमा सामान्य कथाका पुस्तकहरू पढ्ने गर्थिन् । जुन भेट्यो त्यही पढ्ने  उनको बानी नै हो । अमर न्यौपानेको 'सेतो धरती'ले रेजिनालाई किताबको क्रेजी बनायो । 

'नन फिक्सन'मा भने उनलाई खासै रूचि छैन । लभ स्टोरी उनको साह्रै 'फेबरेट' हो । 

उनी पनि हाते किताबकै किरो हुन् । किताबको स्पर्श गरेजस्तो मज्जा मोबाइलमा औंला चलाउँदा नआउने बताउँछिन् । 'भाव नै फरक पर्छ, आँखाका लागि पनि फाइदाजनक,' उनी भन्छिन्, 'म र किताबबीच गज्जबको सम्बन्ध स्थापित भएको हुन्छ । उपकरणहरूसँग त्यो प्रेम रहन सक्दैन ।' 

धर्मग्रन्थको क्रेज

युवामाझ धर्म विवादको विषय हो । अझ, धर्म नै नमान्ने नास्तिकहरू प्रशस्तै भेटिन्छन्, नयाँ पुस्तामा । र, उनीहरू धार्मिक पुस्तकतिर खासै आकर्षित् देखिँदैनन् । 

यस भीडमा विनोद लामा भने फरक छन् । उनी धर्ममा निकै रूचि राख्ने मात्र होइन, धार्मिक पुस्तकमै हराउँछन् । धार्मिक प्रकृतिका पुस्तक पढ्न थाले भने खान पनि बिर्सिन्छन् रे, उनले । उनको कोठा धार्मिक किताबले नै भरिएको छ । 

गीता मात्र होइन, त्रिपिटक, कुरान, बाइबल पनि पढिभ्याएका छन् । संस्कृत भाषामा दख्खल नभएकाले उनलाई वेद पढ्न भने समस्या परेको छ । गीता त नेपालीमा अनुवाद नै गरेका छन् । 

बौद्ध धर्म गुरू 'रिन्पोछे'को 'लिभिङ फुल्ली' उनलाई मन पर्ने पुस्तक हो, जसले आफ्नो जीवन नै परिवर्तन गराएको ठान्छन् । 

'सांसारिक मोह र मायाको जालोबाट फुक्का हुन मद्दत गर्‍यो,' उनी भन्छन्, 'साँच्चै नै त्यो किताबले मलाई मेरो जीवन पूर्ण रूपमा जीउन सिकायो ।' अहिले पनि कुनै समस्या पर्‍यो या मन विचलित भयो भने त्यही पुस्तक पढेर शान्त हुन्छन् । 

धर्मग्रन्थहरूबाट धेरै ज्ञान प्राप्त हुने र रहस्य बुझ्न मद्दत पुग्ने उनी बताउँछन् । त्यस्ता पुस्तक भित्री रहस्य र ज्ञानले भरिपूर्ण रहेको हुने उनको बुझाइ छ । भौतिकवाद उनको रोजाइको क्षेत्र होइन । र, त्यस पाटोमा पुस्तकमा पनि रूचि छैन । 

बदलिँदै पुस्तकालयहरू

एक समय आयो, पुस्तकालयहरूका सदस्य घट्दै गए र पठन संस्कृति नै हराउने चिन्ता छायो । मोबाइल र सामाजिक सञ्जालप्रतिको आकर्षण बढ्दै गएको बेला थियो त्यो । 

तथापि, पछिल्ला दिनमा सदस्य संख्या बढ्दो क्रममा रहेको केशरमहलस्थित केशर पुस्तकालयका उपसचिव दशरथ मिश्र बताउँछन् । उनका अनुसार अहिले दैनिक करिब डेढ सय जना उक्त पुस्तकालयमा पुग्छन् । 

'पुस्तकालय पुस्तक लिने र दिने ठाउँ हो भन्ने परम्परागत सोच परिष्कृत गर्नुपर्ने बेला आएको छ,' मिश्र भन्छन्, 'त्यसपछि मात्र युवाको ठूलो जमात सकारात्मक ढंगबाट तानिन सक्छ ।'

पाठक आकर्षित् गर्न अपांग मैत्री पुस्तकालयको चलन पनि शुरु नभएको होइन । त्यसको उदाहरण हो, भृकुटीमण्डपस्थित काठमाण्डौं भ्याली पब्लिक लाइबे्ररी । प्रमुख सहायक रितेश नेवाका अनुसार अपांगहरूका लागि उपकरणमार्फत् पुस्तक पढ्ने व्यवस्था मिलाइएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।