सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वित्तीय क्षेत्रको सबैभन्दा ठूलो मर्जर निश्चित, सहमतिपत्रमा हस्ताक्षर भोलि

वित्तीय क्षेत्रको सबैभन्दा ठूलो मर्जर निश्चित, सहमतिपत्रमा हस्ताक्षर भोलि

लामो समयको छलफलपछि हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकबीच बिहीबार औपचारिक रुपमा मर्जर सम्झौता हुने भएको छ। यो नेपालमा हालसम्मकै सबैभन्दा ठूलो मर्जर हो। 
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

काठमाडौं– लामो समयको छलफलपछि हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकबीच बिहीबार औपचारिक रुपमा मर्जर सम्झौता हुने भएको छ। यो नेपालमा हालसम्मकै सबैभन्दा ठूलो मर्जर हो। 

दुवै बैंकका अध्यक्ष (हिमालयन बैंकका तुलसीप्रसाद गौतम र इन्भेष्टमेण्ट बैंकका पृथ्वीबहादुर पाण्डे)ले औपचारिक मर्जरका लागि सहमतिपत्रमा हस्ताक्षर गर्नेछन्। 

मर्जरका लागि दुवै बैंकले आफ्नो सम्पूर्ण सम्पत्ति तथा दायित्वको प्रारम्भिक मूल्यांकन (डीडीए) गरेका थिए। दुवै बैंकको एकै कम्पनीले डीडीए गरेको थियो। त्यसक्रममा हिमालयन बैंकको १०२ रुपैयाँ ५० पैसा र नेपाल इन्भेष्टमेण्ट बैैंकको १०० रुपैयाँ प्रतिसेयर मूल्य आएको थियो। डीडीएअनुसार आएको मूल्यलाई नै आधार मानेर १ः१ को अनुपातमा नै मर्जर हुने बैंकका एक सञ्चालकले जानकारी दिए। दुवै बैंकबीच १० प्रतिशतसम्म तलमाथि भएमा १ः१ को अनुपातमा नै मर्ज हुने भद्र सहमति भइसकेको थियो। 

मर्जर कमिटीले गरेको सहमतिअनुसार मर्जरका क्रममा लागेको सम्पूर्ण खर्च दुवै बैंकले बराबर तिर्नेछन्। कर्मचारी विनियावली हिमालयन बैंकको नै प्रयोग गर्ने, कर्मचारीको स्वेच्छिक अवकाश योजना ल्याउने, बैंकको नाम हिमालयन एन्ड नेपाल इन्भेष्टमेण्ट बैंक राख्ने, सञ्चालक समितिको अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृतमा अशोक राणा रहने सहमति भइसकेको छ। 

त्यस्तै बाँकी सञ्चालक भने दुवै बैंकको सेयर संरचनाको हिसाबले छानिने सहमति भएको छ। मर्जरपछि दुवै बैंकको चुक्तापुँजी २४ अर्ब ६२ करोड हुन्छ। वाणिज्य बैंकमा यो सबैभन्दा बढी हो। 

प्रकाशित: May 12, 2021| 15:43 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्