सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बिमा कम्पनीका संस्थापक सेयरधनीलाई कडाइ, दुई वर्षभित्र सेयर १५ प्रतिशतमा झार्न निर्देशन

बिमा कम्पनीका संस्थापक सेयरधनीलाई कडाइ, दुई वर्षभित्र सेयर १५ प्रतिशतमा झार्न निर्देशन

अब बिमा कम्पनीमा संस्थापक सेयर १५ प्रतिशत बन्दा बढी हुन नपाउने भएको छ।
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

काठमाडौं– अब बिमा कम्पनीमा संस्थापक सेयर १५ प्रतिशत बन्दा बढी हुन नपाउने भएको छ। बिमा समितिले बिमा कम्पनीहरुको संस्थापक सेयर कारोबारसम्बन्धी निर्देशिका जारी गरी संस्थापक सेयरधनी १५ प्रतिशतभन्दा बढी हुन नपाउने व्यवस्था गरेको हो। 

सो निर्देशिका अनुसार यदि कुनैपनि व्यक्ति वा संस्थाको बिमा कम्पनीमा १५ प्रतिशत भन्दा बढी संस्थापक सेयर छ भने दुई वर्षभित्रमा तोकिएको सिमाभन्दा कम राख्नुपर्ने छ। 

बिमा समितिका प्रवक्ता राजुरमण रेग्मीका अनुसार २ बर्षभित्रमा सिमा भन्दा बढी भएका बीमकका संस्थापक सेयरधनीहरुले आफूसँग भएको सेयर विक्रि गर्नुपर्ने छ। अन्यथा बीमक कम्पनीको लाभांस तथा हकप्रद सेयरमा रोक लगाइने छ। 

त्यसरी एक व्यक्तिले एउटा कम्पनीमा १५ प्रतिशतको सीमामा संस्थापक सेयर लगानी गरेपछि समान प्रकृतिको अन्य कम्पनीहरूमा पनि चुक्तापूँजीको १ प्रतिशतभन्दा कम हुनेगरी संस्थापक सेयर लगानी गर्न पाउने व्यवस्था छ। 

तर, फरक प्रकृतिको कम्पनीमा भने १५ प्रतिशत संस्थापक सेयरमा लगानी गर्न पाउँछन्। समितिका अनुसार चुक्तापूँजीको १ प्रतिशत कम हुने गरी एकभन्दा बढी कम्पनीमा सेयर लगानी गर्न सकिनेछ।

निर्देशिका अनुसार सरकारको ५० प्रतिशतभन्दा बढी स्वामित्व भएको कम्पनीहरूमा समितिको स्वीकृति लिएर बढीमा २५ प्रतिशतसम्म एकभन्दा बढी बीमक (बिमा कम्पनी) मा संस्थापक लगानी गर्न दिइने छ। 

यो निर्देशनले के स्पष्ट पारेको छ भने नेपाल बिमा कम्पनीमा संस्थापक सेयर १५ प्रतिशत रहेपनि बिमा समितिले स्वीकृति दिएमा अन्य नीजि बिमा कम्पनीमा २५ प्रतिशत सम्म लगानी गर्न पाउनेछ। 

बिमा समितिले एकै प्रकृतिका बिमा कम्पनीहरूमा (क्रश होल्डिङ) संस्थापक सेयरलाई पनि २ वर्षभित्र नै विक्री गर्न निर्देशन दिएको छ। त्यस्तै एकै समूह, व्यक्ति वा एकाघर परिवारले समान प्रकृतिका बिमा कम्पनीहरूमा तोकिएको सीमाभन्दा बढी सेयर लगानी भएमा त्यस्तो शेयर पनि विक्री गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।

सीमाभन्दा बढी भएको शेयर विक्री गरेर शेयर संरचना तोकिएको सीमाभित्र कायम नभएमा बिमा समितिले सम्बद्ध कम्पनीहरूलाई एकआपसमा गाभ्न–गाभिन (मर्ज हुन) निर्देशन दिन सक्ने व्यवस्था पनि गरिएको छ।

हाल बिमा समितिले बिमा कम्पनीहरुको क्रस होल्डिङसको विषयमा अध्ययन गरिरहेको छ। सवै कम्पनीहरुबाट विवरण प्राप्त भएपछि समितिले थप निर्णय गर्ने जनाएको छ। 

प्रकाशित: May 12, 2021| 11:22 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्