काठमाडौं– नेपाल उद्योग परिसंघले सरकारलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ।
मंगलबार परिसंघले आफ्नो सदस्य संस्था होङ्सी–शिवम् सिमेन्टमार्फत आठ लिटर क्षमताका दुई सय थान अक्सिजन कन्सन्ट्रेटर स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको हो।
दुई करोड रुपैयाँबराबरको सो सामग्रीहरु बुझ्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले महामारी तथा अक्सिजनको अभावको यस घडीमा उपलब्ध सामग्रीहरुले अक्सिजन सिलिन्डरको विकल्पका रुपमा राहत हुने बताए।
त्यस्तै सामग्रीहरु हस्तान्तरण गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले राष्ट्रको संकटका बखतमा नेपालको निजी क्षेत्र सरकारसँगै रहेको बताए।
राष्ट्रको संकटका बेला अत्यावश्यक सामग्री उपलब्ध गराई सहयोग पुर्याएकोमा परिसंघले होङ्सी–शिवम् सिमेन्ट परिवारलाई धन्यवाद समेत दिएको छ। कोभिड–१९ को दोस्रो लहरसँगै देशका अधिकांश स्थानहरुमा निषेधाज्ञा जारी भएको अवस्था छ।
यस्तो आपत्कालीन परिस्थितिसँग जुध्न परिसंघले यसअघि नै उद्योगहरुमा रहेको अक्सिजन सिलिन्डरहरु नेपाल सरकारलाई उपलब्ध गराउन सबैलाई आह्वानसमेत गरिसकेको छ।