सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • निषेध आदेशको मौका छोप्ने व्यापारीलाई जरिवाना, फार्मेसीहरूलाई कारबाही

निषेध आदेशको मौका छोप्ने व्यापारीलाई जरिवाना, फार्मेसीहरूलाई कारबाही

कोरोना नियन्त्रण गर्ने भन्दै गरिएको निषेध आदेशको मौकामा अनुचित व्यापारिक क्रियाकलाप गर्नेलाई सरकारले जरिवाना गर्ने गरेको छ।
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं - कोरोना नियन्त्रण गर्ने भन्दै गरिएको निषेध आदेशको मौकामा अनुचित व्यापारिक क्रियाकलाप गर्नेलाई सरकारले जरिवाना गर्ने गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निषेध आदेशको मौकामा अनुचित व्यापारिक क्रियाकलाप गर्ने व्यवसायीलाई जरिवाना गर्न थालेको हो।

विभागले सोमबारमात्रै जोरपाटी क्षेत्रका तीन मासु पसललाई जरिवाना गरिएको जानकारी दिएको छ। जोरपाटीका अलि मासु पसल र जय भिमसेन मिट सपले अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्दै पाँच/पाँच हजारका दरले जरिवाना गरिएको विभागले जानकारी दिएको छ। 

उपभोक्ता संरक्षण ऐन २०७५को दफा ३ (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ (१) (क) बमोजिम प्रत्येकलाई ५ हजार रुपैयाँका दरले जरिवाना गरिएको विभागले जानाएको हो।

त्यस्तै सोही ठाउँको आले पसलललाई २० हजार रुपैयाँ जरिवाना गरेको विभागले जानकारी दिएको छ।

त्यस्तै आमुसग ट्रेडर्स नामक खाद्य पसल र चन्द्रलोक किराना पसलाई पनि ५/५ हजार जरिवाना गराइएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए।

प्रवक्ता सेढाईंका अनुसार बौद्धस्थित नेपा मेड्रस प्रालि नामक औषधि पसल र महालक्ष्मी नगरपालिका वडा नम्बर ४ स्थित ओम आरोग्य फार्मेसीलाई २०/२० हजार जरिवाना गराइएको हो। दुबै औषधि पसलले गलत विजक जारी गरी मास्क र स्यानिटाइजको मूल्य बढी लिएको पाइएको थियो।

विभागले आफू मातहतको विराटनगर कार्यालयमार्फत गरिएको अनुगमनका क्रममा विराटनगर ममहानगरपालिका-२ मा रहेका २ वटा फार्मेसी (यश फार्मेसी र बिनुका फार्मेसी) ले मास्क र स्यानिटाइजरको मूल्यमा चलखेल गरेको पाइएकाले जरिवाना गराइएको छ। ती दुबै फार्मेसीबाट क्रमश ५ हजार र २० हजार जरिवाना असुल  गरिएको हो।

मोरंगको बुढिगंगा गाउँपालिका वडा नम्बर २ मा रहेको विज्ञान फार्मेसीले ८० रुपैयाँमा खरिद गरेको स्यानिटाइजर १६५ रुपैयाँमा बिक्री गरेकाले २ लाख रुपैयाँ जरिवना असुल गरिएको छ। उक्त फार्मेसीलाई १०६ प्रतिशत भन्दा बढी नाफा लिएको कसुरमा २ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।

कोहलपुर मेडिकलभित्र रहेको फार्मेसीलाई विभागको नेपालगन्ज कार्यालयले स्पष्टीकरण सोधेको छ। कोहलपुर मेडिकल कलेजभित्र सञ्चालनमा रहेको गौतम बुद्ध नेपालगञ्ज फार्मेसी प्रालिले वैशाख महिनामा खरिद गरेको ३६६ भायल रेम्डिसिभर औषधिको बिक्री वितरणबारे स्पष्टीकरण सोधेको हो।

सो परिमाणको रेम्डिसिभर औषधि को-कोलाई, कुन-कुन मितिमा, कति मूल्यमा? कुन-कुन बिल नम्बरमार्फत बिक्री वितरण गरिएको हो? त्यसको स्पष्टीकरण ३ दिनभित्र उपलब्ध गराउन निर्देशन दिइएको विभागले जानकारी दिएको छ।

प्रकाशित: May 11, 2021| 05:13 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्