सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बजेट आउन १९ दिन बाँकी हुँदा पनि अर्थ समितिले बुझाएन प्रतिवेदन

बजेट आउन १९ दिन बाँकी हुँदा पनि अर्थ समितिले बुझाएन प्रतिवेदन

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्षको लागि संसदमा बजेट पेश गर्न अब १९ दिनमात्र बाँकी छ।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं– अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्षको लागि संसदमा बजेट पेश गर्न अब १९ दिनमात्र बाँकी छ। 

हरेक वर्ष बजेट आउन करिब एक महिनाअगावै संसदको अर्थ समितिले आफ्नो तर्फबाट बजेटमा सुझावसहितको प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाउने गरेको थियो, तर यसपालि भने अर्थ समितिका सचिव सुरेन्द्र अर्याललाई नै कोरोना लागेपछि समितिले सम्बन्धित निकायसँग राम्रोसँग छलफलसमेत गर्न सकेको छैन। 

समितिले आगामी आर्थिक वर्षका लागि बजेटबारे १० वटा मन्त्रालयसँग मात्र छलफल गर्न भ्याएको थियो। अर्थ समितिले हरेक वर्ष मन्त्रालय, निजी क्षेत्र, सहकारी, बैंकिङ क्षेत्र, सुनचादी महासंघ, सेयर बजार लगायत क्षेत्रसँग छलफल गर्ने गरेको थियो। तर यसपालि भने छलफल नै गर्न सकेको छैन। 

छलफलका क्रममा नै समितिका सचिव अर्याललाई कोरोना लागेपछि अन्य मन्त्रालयसँग छलफल नै गर्न नपाएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए। उनका अनुसार सचिवलाई कोरोना संक्रमण देखिएपछि समितिले बजेटबारे छलफल गर्न स्थागित गरेको थियो। यसैबीच सरकारल वैशाख १६ गतेबाट उपत्यकामा निषेध आदेश जारी गरेपछि थप छलफल गर्न पाएन। 

‘अर्थ समितिले केही दिनमा आगामी आर्थिक वर्षमा कस्तो बजेट बनाउनुपर्छ भनेर प्रतिवेदन तयार पारी अर्थ मन्त्रालयमा बुझाउने तयारी गरेको छ,’ सभापति दाहालले भने। समितिले जति पनि मन्त्रालयसँग छलफल भएको छ, सोही आधारमा प्रतिवेदन तयार पारी वैशाख मसान्तभित्रमा नै प्रतिवेदन बुझाउने तयारी भएको समितिले जानकारी दिएको छ। 

अर्थ मन्त्रालयका अनुसार आगामी जेठ १ गतेदेखि बजेट लेखन सुरु हुनेछ। 

प्रकाशित: May 10, 2021| 11:41 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्