काठमाडौं– सोमबार सेयर बजार परिसूचक (नेप्से) २७.४१ अंकले उकालो लागेको छ। बजार उकालो लागे पनि कारोबार रकममा भने गिरावट आएको छ।
यसदिन दिनभर २१८ कम्पनीको ७५ लाख ७९ हजार कित्ता सेयर ४ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार (हिजो) ६ अर्ब रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार भने जम्मा ४ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ।
पछिल्लो समय सेयर बजार ओरालो लागिरहेको थियो। आइतबार बजार १० अंकले ओलारो लागेको नेप्सेले जनाएको छ। राजनीतिक अन्योलका कारण लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहँदा बजार उकालो लागे पनि कारोबार रकम भने कम भएको बजार विश्लेषकहरु बताउँछन्।
नेपालको बजार आर्थिक परिसूचकको आधारमा नभई हल्लाको भरमा चल्ने भएकोले राजनीतिमा थोरै परिवर्तन आए पनि बजार ह्वात्तै उकालो वा ओरालो लाग्ने गरेको लगानीकर्ता संघका अध्यक्ष छोटेलाल रौनियारले जानकारी दिए। उनका अनुसार यस्तो अवस्थामा नयाँ तथा साना लगानीकर्ताहरु नै मर्कामा पर्नेछन्।
सोमबार सबैभन्दा बढी कमाउनेहरुमा राष्ट्रिय बीमा कम्पनी, समता घरेलु लघुवित्त र रुरु जलविद्युत कम्पनी छन्। यी कम्पनीहरुका लगानीकर्ताहरुले १० प्रतिशतले कमाएका छन्। त्यस्तै सवैभन्दा बढी गुमाउनेहरुमा बिशाल बजार कम्पनीको लगानकिर्ताहरु छन्। सो कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशतले गुमाएका छन्।
त्यस्तै यसदिन सबैभन्दा बढी कारोबार भएका कम्पनीहरुमा नेपाल पुनर्बिमा कम्पनी, माथिल्लो तामाकोसी लगायतका कम्पनीहरु रहेका छन्। यसदिन सवै समूहगत परिसुचक उकालो लागेको छ।