काठमाडौं - सरकारले विदेशी नागरिकको भिसा सकिएको खन्डमा उनीहरूलाई विलम्ब शुल्क र जरिबाना नलिईकन नियमित गर्ने निर्णय गरेको छ।
अध्यागमन विभागले सूचना जारी गरी वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको र सोको कारण नेपालमा नै अड्किएर बसेका विदेशीहरूको हकमा अन्तर्राष्ट्रिय हवाई उडान सुरु भएको ७ दिनभित्र देश छोडेमा भिसा विलम्ब शुल्क र जरिबाना नलिने निर्णय गरेको जनाएको छ। तर, त्यसका लागि वैशाख १५ गतेसम्म भने भिसाको वैध भएको हुनुपर्ने छ।
त्यस्तै अन्तर्राष्ट्रिय हवाई उडान सुरु भएपछि पनि नेपालमै बस्न चाहने विदेशीहरूलाई भने निषेध आदेश समाप्त भएको सात दिनभित्र भिसा नियमित गर्न आएमा कुनै शुल्क नलिने निर्णय गरेको पनि विभागले जनाएको छ।
साथै गत वैशाख १५ गतेसम्म नेपालको वैध पर्यटन भिसा भएका विदेशीको हकमा निषेध आदेश अवधिलाई निज पर्यटक भिसामा नेपाल बस्न सक्ने अवधि १५० दिन अन्तर्गत गणना नगर्ने पनि स्पष्ट पारेको छ।
हाल नेपालमा करिब १५ हजारको हाराहारीमा विदेशीहरू रहेको अध्यागमन विभागले जनाएको छ।