बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खोप प्रकरणमा सरकारलाई विवेकशील साझाको प्रश्न : अवरोध सिर्जना गर्नेलाई किन कारबाही गरिएन ?

खोप प्रकरणमा सरकारलाई विवेकशील साझाको प्रश्न : अवरोध सिर्जना गर्नेलाई किन कारबाही गरिएन ?

कोरोनाविरुद्धको खोप खरिद प्रक्रियामा देखिएको कमिसन खेलका विषयमा विवेकशील साझा पार्टीले सरकारमाथि विभिन्न प्रश्न उठाएको छ।
 |  शुक्रबार, वैशाख २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २४, २०७८

काठमाडौं- कोरोनाविरुद्धको खोप खरिद प्रक्रियामा देखिएको कमिसन खेलका विषयमा विवेकशील साझा पार्टीले सरकारमाथि विभिन्न प्रश्न उठाएको छ।

कोरोना भाइरसविरुद्धको भारतीय खोप खरिद प्रक्रियामा अवरोध तथा अलमलबारे हालै सार्वजनिक समाचारहरुलाई लिएर विवेकशील साझा पार्टीले सरकारमाथि ४ प्रश्न उठाएको छ।

उक्त पार्टीका प्रवक्ता शरदराज पाठकले एक विज्ञप्ति जारी गर्दै सरकारले आफ्ना अक्षमता, नालायकी, अकर्मण्यता र भ्रष्टता ढाकछोप गर्न आंशिक रुपमा दोषको भागीदार देखिएका व्यापारीहरुको थाप्लोमा सम्पूर्ण दोष थोपरेर आफू चाहिँ चोखिने प्रयत्न गरिरहेको आरोप लगाएका छन्।

यस्ता छन् विवेकशील साझा पार्टीले सरकारमाथि उठाएका प्रश्न

१. महामारीजस्तो राष्ट्रिय/विश्वव्यापी संकटका बेला यदि केही व्यापारीकै कारण खोप खरिद तथा आयातजस्तो संवेदनशील प्रक्रियामा अवरोध सिर्जना भएको हो भने ती व्यापारीमाथि किन कारबाही गरिएन ?

२. केही व्यापारीका अगाडि निरीह देखिएर उनीहरुको टाउकोमा दोष थोपर्दै भयावह स्थितिबाट सरकार उम्कन मिल्छ ? फेरि, त्यस्ता व्यापारीहरु सरकार हाँक्ने नेताहरूबाटै संरक्षित छैनन् र ?

३. भारतीय उत्पादकबाट खोप ल्याउन बिचौलियाले रोकेको र त्यो अवरोध सल्टाउन कठिन भएकै हो भने अन्यत्रबाट खोप ल्याउने प्रक्रिया समयमै अघि बढाउन चाहिँ सरकारलाई कसले अवरोध गर्‍यो?

४. प्रधानमन्त्री केपी ओलीले तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप दिलाउने घोषणा गरेका थिए। मानिलिऊँ, कसैले अवरोध नगरेर भारतबाट थप ५० लाख डोज खोप सहजै आएको भए पनि त्यो प्रधानमन्त्रीले घोषणा गरे अनुरूप बाँकी नेपालीलाई खोप लगाउन पर्याप्त हुने थिएन। बाँकी खोप ल्याउन चाहिँ सरकारले हालसम्म के गरेको छ ?

उक्त पार्टीले यस्तो विपदमा पनि निहित स्वार्थ वा लाभबाट प्रेरित भएर खोप आयातमा अवरोध सिर्जना गर्नु तथा अलमल गर्नु अक्षम्य अपराध भएको बताएको छ। साथै खोप प्रकरणमा संलग्न सबैमाथि छानबिन होस्, दोषी देखिएमा कडा कारबाहीको माग पनि उक्त पार्टीले गरेको छ।

उल्लेखित प्रश्नहरुको चित्तबुझ्दो जवाफ तत्काल नागरिकसमक्ष पेस गर्न सरकारसँग माग गर्दै विवेकशील साझा पार्टीले अन्यथा राज्यले आफूलाई निरीह देखाएर, आंशिक विवरणहरू मात्र बाहिर ल्याएर सरकारले आफ्नो अक्षमता ढाकछोप गर्न अनेक भाष्य निर्माण गर्नु कदापि स्वीकार्य हुन नसक्ने पनि बताएको छ।

प्रकाशित: May 07, 2021| 11:10 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।