काठमाडौं- अनुराग कश्यप बलिउडमा निकै रुचाइएका फिल्म निर्देशक हुन्। चाहे त्यो व्यापारिक दृष्टिले होस् या समीक्षात्मक। तर, उनको यो पहिचान सहजै बनेको होइन।
बलिउडका लागि उनी विल्कुल ‘आउडसाइडर’ थिए। उत्तर प्रदेशको गोरखपुरमा जन्मिएका उनको फिल्मप्रतिको अनुराग कलेजमा पढ्दाताका गहिरिएको हो। जब उनले दिल्लीमा आयोजना भएको अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा गएर १० दिनमा ५५ वटा फिल्म हेरे, त्यसपछि फिल्मप्रति उनको मोह बढ्यो।
अझ त्यही बेला हेरेको इटालीको एउटा फिल्म ‘बाइसाइकल थिभ्स’ले उनमा गहिरो छाप छोड्यो। उनले पटकपटक अन्तर्वार्तामा भनेका छन्, ‘यो फिल्मको क्लाइमेक्स मेरो जीवनसँग नजिक थियो। यदि कुनै फिल्मले मान्छेको जीवन परिवर्तन गर्न सक्छ भने सायद मेरो लागि यही फिल्म थियो।’
फेस्टिभलमा सहभागी भएको करिब पाँच महिनापछि सन् १९९३ मा अनुराग मुम्बई ओर्लिएका थिए। त्यतिबेला खल्तीमा ५–६ हजार पैसासहित उनले अरु केही बोकेका थिए भने, सायद त्यो फिल्ममै काम गर्ने सपनामात्रै थियो।
तर, मुम्बईमा जम्ने त्यो सपना न हिजो सहज थियो न आज। खल्तीको रकम सकिएपछि त्यही सपनालाई बोकेर करिब ८ महिना आफ्ना रातहरु अनुरागले सडकका गल्लीहरुमै बिताए। कहिले नदीको किनारमा त कहिले सेन्ट जेभिएर कलेजको ब्वाइज होस्टलको पानी ट्याङ्कीमा। तर, उनले आफ्नो सपनालाई कहिल्यै हार्न दिएनन्।
अरुको नजरमा हेर्दा अनुरागको संघर्ष कम्ता पीडादायी छैन। सायद उति नै प्रेरणादायी पनि छ। तर, अनुराग स्वयम् फिल्म मेकिङमा प्रवेश गर्नका लागि आफूले गरेको संघर्षलाई कहिल्यै महसुस नगरेको बताउँछन्।
बिहीबार सुरु भएको नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सवको पहिलो दिन अनलाइनबाट आफ्नो अनुभव सुनाइरहेका अनुरागलाई जब सहजकर्ता उत्पल झाले जिज्ञासा राखे– ‘सिनेमा नै किन ?’
‘थाहा छैन किन,’ जवाफमा उनी एकछिन हाँसेपछि एकाएक गम्भीर भए, ‘मैले कहिल्यै संघर्ष महसुस गरिनँ। सिनेमाबाहेक अरु कुनै क्षेत्रमा लागेको भए सायद मेरो जीवन पीडादायी र संघर्षपूर्ण हुन्थ्यो होला तर म सिनेमा बनाउन चाहन्थे र सिनेमा नै बनाएँ। मैले १९९३ मा मुम्बई छिरेँ तर मेरो पहिलो फिल्म १४ वर्षपछि २००७ मा मात्रै आयो। फिल्मका लागि यत्रो समय बिताउँदा पनि मलाई पीडादायी या संघर्ष महसुस भएन, जसरी अरुलाई यहाँ हुन्छ। किनभने मलाई जसरी पनि फिल्ममा काम गर्नु थियो। ’
‘आउडसाइडर’ कहीँकतै सहज नहुने उनी स्वीकार्छन्। तर, उनको बुझाइमा कामप्रति निरन्तर लगाव र प्रयत्न जीवनको सबैभन्दा ठूलो आवश्यकता हो।
जतिबेला उनी फिल्ममा लाग्दै थिए, उनको परिवार त्यसमा सकारात्मक थिएन। परिवार चाहन्थ्यो, उनी जागीर खाउन्, पैसा कमाउन्। अनुरागलाई लाग्छ, यो हरेक मध्यमवर्गीय अभिभावको चाहना हो।
अझ त्यतिबेला फिल्म बनाउनु भनेको त्यस्तो पेशा थियो कि उनका वरीपरीका मान्छेसम्म त्यो चाहँदैन थिए। ‘तर, महत्वपूर्ण कुरा के हो भने तिमी तिम्रो विचार अथवा दृष्टिकोणमा सधैँ अडिग हुनुपर्छ,’ अनुराग भन्छन्, ‘जीवनमा हामी सधैँ ‘रिजेक्सन’का लागि तयार हुनुपर्छ। रिजेक्ट भएपछिको अवस्थाबारे सधैँ तयार हुनुपर्छ। यहाँ कोही पनि तिमीले फिल्म बनाओस् भन्ने चाहँदैन। तर, आफ्नो काम गर्न छाड्नुहुन्न। म सधैँ लेखिरहन्थेँ, लेखिरहन्छु। लकडाउनकै टाइममा पनि चौथो स्क्रिप्ट सकाइसके। सात सय पानाको स्क्रिप्ट पनि लेखे। रिलिज होस्-नहोस्, फिल्म बनोस्-नबनोस् तर म कहिल्यै लेख्न छाड्दिनँ।’
लेखनप्रति अनुरागको गहिरो अनुराग छ। भन्छन्, ‘यदि कसैले मलाई लेख्ने काम दिन्छ भने म सधैँ त्यसलाई खुशीसाथ स्वीकार्छु।’
केही टेलिभिजन सिरिजहरुमा लेखिसकेपछि अनुरागले पाएको पहिलो ठूलो प्रोजेक्ट हो- रामगोपाल बर्माको फिल्म ‘सत्या’। यो फिल्मको स्क्रिप्ट उनले लेखेका थिए। आफ्नो जीवनको सबैभन्दा ठूलो घोषणा उनी यो फिल्मको रिलिजलाई मान्छन्। भन्छन्, ‘मैले सोचेको थिइनँ, यो फिल्म हिट होला र राम्रो समीक्षा पनि पाउँला।’
निर्देशनका हिसाबले ‘पाँच’ अनुरागको पहिलो फिल्म हो। तर, सेन्सर बोर्डको झमेलका कारण यो फिल्म आजसम्म रिलिज हुन सकेन। ‘ब्ल्याक फ्राइडे’, ‘देव डी’, ‘गुलाल’, ग्याङ्स अफ वासेपुर’ लगायत थुप्रै उनले निर्देशन गरेका फिल्म दर्शकले रुचाएका छन्, समीक्षकले तारिफ गरेका छन्। तर, उनी कथा भनेर अझै थाकेका छैनन्। भन्छन्, ‘मलाई धेरै भन्दा धेरै कथाहरु भन्न मन छ।’
अनुरागलाई लाग्छ, एउटा देशको सिनेमा विश्वले हेर्छ, यो फिल्ममेकरले पाएको सबैभन्दा ठूलो उपहार हो। ‘तिमी जति आफ्नो जीवनसँग जोडिएको कथा भन्छौ, त्यो त्यति नै यूनिक हुन्छ,’ उनी भन्छन्, ‘तिमी नेपाली फिल्म बनाऊ, विश्वमा त्यसले अर्थ राख्छ। विश्वमा धेरै देशहरु छन् जोसँग फिल्म इन्डष्ट्री छैन। अहिले ओटिटी प्लेटफार्मले हामीलाई जोडिरहेको छ। नेपालले पनि नेटफ्लिक्स हेर्छ। विश्वमा राम्रो स्क्रिप्टमाथि लगानी गर्ने संस्थाहरु छन्, त्यहाँ जान सकिन्छ। तर सर्जकले कहिल्यै लगानीको चिन्ता गर्ने होइन।’
अनुरागको बुझाइमा फिल्ममेकरको काम पैसा खोज्ने होइन। उनीहरुको काम त त्यस्तो स्क्रिप्ट तयार गर्ने हो या त्यस्तो फिल्म बनाउने हो ताकि अरुले आएर सोधुन्– म कसरी यो फिल्मसँग जोडिनसक्छु।
‘तपाइँ त्यस्तो फिल्म बनाउनुस् ताकि प्रोड्युसरले तपाईसँग आएर सोधोस्– अब के बनाउन चाहन्छाँै ?,’ अनुराग भन्छन्, ‘मैले कहिल्यै पैसा खोजिनँ। तर, मलाई खोज्दै मान्छेहरु आएँ। म कहिल्यै मेरो कोठाभन्दा बाहिर गइनँ। म मेरै कोठामा बसेर लेखिरहेँ।’
अनुराग जब स्क्रिप्ट तयार पार्थे र कसैलाई सुनाउँथे। जवाफमा उसले भन्थ्यो– ‘यस्तो फिल्म चल्दैन, यस्तो फिल्ममा कसैले लगानी गर्दैन। त्यस्तो फिल्म लेख, जो अरुले हेर्न चाहन्छन्। ’
त्यसपछि उनी त्यस्तै फिल्म लेख्थे। र, भन्थे, ‘अब यो फिल्मले कमाएको पैसाबाट त्यस्तो फिल्म बनाउँछु जुन अरुले हेर्न चाहँदैनन्।’
‘मैले ‘अग्ली’ लेखेको सात वर्षपछिमात्रै बनाएको हो,’ अनुराग सम्झन्छन्, ‘मैले ‘मनमर्जिया’ बनाएवापत ‘मुक्कावाज’ पाएको हुँ। त्यतिबेला मैले निर्मातालाई स्पष्ट भनेको थिएँ, ‘म तिम्रो लागि ‘मनमर्जिया’ बनाइदिन्छु, तिमी मेरा लागि ‘मुक्कावाज’ बनाइदेउ। यसरी मैले यी दुई फिल्ममा काम गरेको थिएँ। ’
यस्तो पनि समय थियो, कुनैबेला अनुरागलाई भारतमा ‘मेनस्ट्रिम’ ले स्वीकारेको थिएन। उनी फिल्म लिएर युरोप पुग्थे, तर त्यहाँ पनि फिल्ममा हुने उनका गीत र अन्य मसलाले गर्दा स्थान पाउँथेन।
त्यतिबेला उनी न भारतको मेनस्ट्रिममा फिट थिए, न युरोपको आर्ट हाउसमा। त्यसपछि आफैलाई मनमनै प्रश्न गर्थे– त्यसो भए कहाँ छु त म ?
‘त्यसको केही वर्षपछि मैले ती प्रश्नहरुको वास्ता गर्न छोडिदिएँ,’अनुराग भन्छन्, ‘म के निष्कर्षमा पुगेँ भने म मेरो फिल्म यसकारण बनाउँछु ताकि त्यसले अडियन्स बनाओस्। ’
अहिले कसैले अनुरागलाई तिमी कस्तो फिल्म बनाउँछौ भनेर सोध्यो भने जवाफमा उनी भन्छन्, ‘म मेरो फिल्म बनाउँछु, यो तिम्रो लागि कस्तो खालको फिल्म हो, त्यो तिमी निर्णय गर। कसैले मेरो फिल्म धेरै कमर्सियल छैन भन्छ भने त्यो पनि म स्वीकार्छु। कसैले धेरै ‘आर्टिस्टिक’ छैन भन्छ भने त्यो पनि स्वीकार्छु।’
कोभिडपछि विश्वभर अहिले सिनेमाको भविष्यलाई लिएर चिन्ता भइरहेको छ। अब सिनेमा कता जान्छ, धेरैको जिज्ञासा छ। यो जिज्ञासालाई अनुराग भने सिनेमाका व्यापारीहरुको चिन्ताको विषय ठान्छन्।
‘हामी फिल्ममेकरको काम त फिल्म बनाउनेमात्रै हो। अहिले युवा पुस्ता २०-३० मिनेटभन्दा बढीको सिनेमा हेर्न सक्दैन, बरु म त्यति नै समयको सिनेमा बनाउने प्रयत्न गर्छु। तर सिनेमा अहिले कुन अवस्थामा छ भन्ने प्रश्नमा म मेरो समय खेर फाल्दिनँ,’ उनी जवाफ दिन्छन्।
आफ्नो अनुभव सुनाउने क्रममा अनुरागले पछिल्लो पटक आफूले दुई नेपाली सिनेमा दीपक रौनियारको ‘ह्वाइट सन’ र मिनबहादुर भामको ‘कालोपोथी’ हेरेको र निकै मनपरेको बताए। आफूलाई मनपर्ने सम्भावना बोकेका फिल्ममेकरमा समेत उनले दीपक र मिनको नाम लिए। अझ मिनको ‘कालोपोथी’को त अमेरिकामा अफिसियल डिभिडी पाएकोसम्म बताए।
‘तपाईको फिल्म नेपालमा सुटिङ गर्ने चाहना छैन ?’
सहभागीको यो जिज्ञासामा उनले जवाफ दिए, ‘मलाई मन छ। एभरेष्ट बेस क्याम्पमा गएर फिल्म सुटिङ गर्ने सपना छ। सायद अर्को वर्ष म गर्छु होला।’