काठमाडौं– जारी निषेध आदेश कडा बनाइएसँगै शुक्रबारबाट ट्राफिक प्रहरीले सवारी चेकिङ थप तीव्र पारेको छ। औषधीजन्य सामग्रीको सप्लाइ गर्ने कार्यालयका कर्मचारीदेखि खाद्यान्न बोकेका सवारीसम्मलाई होल्ड गर्न थालेको छ।
शुक्रबार मेडिकल सप्लायर्समा काम गर्ने भक्तपुरका सुवास न्यौपाने बबरमहलमा होल्डमा परे। सर्जिकल सामग्री सप्लाइ गर्ने पसलमा काम गर्ने उनी अरु दिन सहजै आवतजावत गर्थे। कार्यालयको कार्डले आवतजावत गर्न कुनै समस्या थिएन। तर, शुक्रबार उनलाई कार्यालय कुपण्डोल जाने क्रममा बबरमहलमा प्रहरीले रोक्यो।
‘कार्यालयको कार्ड देखाउँदा आजबाट यस कार्डले हुँदैन। कार्यालयको लेटर प्याडमा स्टाम्प लगाएको पेपर ल्याउनु भने,’ उनले सुनाए, ‘हिजोसम्म चेकिङमा तपाईंहरु पनि हामीजस्तै अत्यावश्यक क्षेत्रमा काम गरिरहनु भएको छ, जानुस् भनेर छाड्थे। तर, आज रोकियो।’
न्यौपानेले थपे, ‘यो बेला मेडिकलकर्मीलाई खान त भ्याइनभ्याइ हुन्छ। यसरी बाटोमा रोकेर अनावश्यक दुःख दिइरहेका छन्।’ उनीसँगै आएका अन्य तीन जना उनकै कार्यालयका सहकर्मीलाई पनि ट्राफिकले होल्डमा राखेको छ। तर, अन्य केहीलाई भने छाडिदिएको थियो।
ट्राफिकको होल्डमा परेका सुवासले भने, ‘सँगैको साथीलाई छोडिदियो तर किन मलाई चाहिँ किन होल्डमा राखियो ? नियम सबैलाई एउटै हुनुपर्ने होइन र ?’
मास्क सप्लाइको काम गर्दै आएका सानो भर्याङका विनय श्रेष्ठ पनि मीनभवन चोकमा होल्डिङमा परे। बिहान १० बजेतिर भक्तपुरको महालक्ष्मी ट्रेड सप्लायर्समा मास्क पुर्याउन गएका उनलाई फर्किंदा मीनभवनमा प्रहरीले रोक्यो। ‘जाँदा गाडीमा मास्क थियो, अहिले बिलमात्रै छ। बिल देखाउँदा पनि फर्किन दिइएको छैन,’ उनले भने। प्रमाणसहितको बिल देखाउँदा पनि रोकेर अनावश्यक दुःख दिएको उनको गुनासो छ।
कार्यस्थलमा खटिएका प्रहरीले भने खाली गाडी देखे रोक्नु भन्ने आदेशअनुसार होल्ड गरेको बताए। प्रशासनको स्वीकृतिसहितको कार्यालयको लेटरप्याड नभएकाहरुलाई पनि रोक्नु भन्ने आदेश भएकाले होल्ड गरिएको प्रहरीहरुले बताएका छन्।
काठमाडौं उपत्यकामा वैशाख १६ गतेबाट निषेध आदेश सुरु भएसँगै आज (वैशाख २४) सम्म १६ हजार ३२४ सवारीसाधनलाई प्रहरीले कारबाही गरेको छ। जसमा दुईपांग्रे १० हजार ७४३ छन् भने ३ हजार २५० चारपांग्रे र अन्य ठूला सवारी ९३१ सवारी छन्।
आज शुक्रबारमात्रै १४ सयभन्दा धेरै सवारीसाधनलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख जनकराज भट्टराईले जानकारी दिए। उनका अनसार चेकिङ अझै कडा पारिनेछ। बहाना गरेर हिँड्ने, आवश्यक कागजपत्र नबोक्नेलाई होल्ड गरिने उनले बताए।
निषेध आदेश सुरु भएपछि काठमाडौं उपत्यकामा मास्क नलगाउने र निषेध आदेश उल्लंघन गरेर हिँड्ने १० हजार ७७४ जना पैदल यात्रुलाई प्रहरीले कारबाही गरेको छ।
