काठमाडौं - नेपाल प्रहरीले प्रयोगविहीन अवस्थामा रहेका १५१ वटा अक्सिजन सिलिन्डर संकलन गरेको छ।
नेपालमा कोरोना भाइरसको महामारी बढेसँगै अक्सिजनको अभाव देखिँदा प्रहरीले महानगरीय प्रहरी परिसरको अगुवाइमा प्रयोगविहीन सिलिन्डर संकलन गरेको हो।
संकलन गरिएका अक्सिजन सिलिन्डरमध्ये जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकबाट निर्णय गराई अतिआवश्यक रहेका अस्पतालहरूमा वितरण गरिएको प्रहरीले जनाएको छ।
संकलन गरिएका सिलिन्डरमध्ये प्रहरीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५० थान, किस्ट मेडिकल कलेजलाई ३० थान, बज्रबाराही अस्पताललाई १० थान र अल्का अस्पताललाई १५ थान उपलब्ध गराएको छ।
प्रहरीले स्टक एवम् ‘डम्प’ भई जगेडाका रुपमा रहेका सिलिन्डरको खोजी कार्यलाई तीव्रता दिनुका साथै आमसर्वसाधारणलाई खाली रहेका अक्सिजन सिलिन्डर भए प्रहरी परिसर ललितपुरलाई खबर गर्नसमेत आग्रह गरेको छ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि असिक्सजनको अभाव हुन नदिन भन्दै ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत, प्रहरी उपरीक्षक प्रज्वल महर्जन, राष्ट्रिय अनुसन्धान विभाग ललितपुर प्रमुख जिल्ला स्वास्थ्य कार्यालय प्रमुख घरेलु तथा साना उद्योगको टोलीले जिल्लामा रहेका अक्सिजन प्लान्टको अनुगमनसमेत गरेका छन्।
