बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले एकता जोगाउन राष्ट्रपति नै सक्रिय, ओली र नेपालबीच टेलिफोनमा कुराकानी

एमाले एकता जोगाउन राष्ट्रपति नै सक्रिय, ओली र नेपालबीच टेलिफोनमा कुराकानी

सत्ताको नेतृत्व गरेको दल नेकपा एमाले भित्र देखिएको विवाद विभाजन तहसम्म नै पुगेको छ।
 |  शुक्रबार, वैशाख २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २४, २०७८

काठमाडौं– सत्तारुढ एमाले विवाद मिलाउन राष्ट्रपतिदेखि दोस्रो तहका नेताहरु सक्रिय भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आआफ्नै अडानमा छन्। 

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ पार्टी विभाजन रोक्नका लागि विभिन्न तहमा छलफल जारी रहेको बताउँछन्। 

राष्ट्रपति भण्डारीदेखि दोस्रो तहका नेताहरुसम्म अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई सहमति ल्याउने प्रयासमा छन्। सबैतिरबाट दुई नेताबीच वैशाख २७ अगाडि नै निर्णायक वार्ता गराउने पहल जारी रहेको एमालेका एक नेताले बताए। यद्यपि वार्ताको मिति भने टुंगो लागेको छैन। 

नेम्बाङ भन्छन्, ‘राष्ट्रपति र दोस्रो तहका नेताहरुको सक्रियता यसकै लागि हो।’ राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति वरिष्ठ नेता नेपालसँग साढे दुई घण्टा छलफल गरेकी थिइन्। यस्तै अर्थमन्त्रीसमेत रहेका नेता विष्णु पौडेलले नेपाल पक्षीय नेताहरू सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराईसँग छलफल गरी एकताका पक्षमा उभिन आग्रह गरेका छन्। 

एमालेले संवादकै लागि भन्दै बागमती प्रदेशमा राष्ट्रियसभाको उम्मेदवार तय गरेको छैन। नेता नेम्बाङ शुक्रबारै उम्मेदवारको टुंगो लाग्ने बताउँछन्। नेम्बाङ भन्छन्, ‘पार्टीमा उत्पन्न विवाद साम्य भएपछि उम्मेदवार टुंगो लगाउँदा सहज हुन्छ।’

नेता नेपालले बिहीबार राष्ट्रपति भण्डारीसँग गहन छलफल गरेका छन्। एमाले विभाजनको तहमा पुगेपछि त्यसलाई रोक्न राष्ट्रपतिले नेता नेपाललाई आग्रह गरेकी थिइन्। नेता नेपालले आफूहरुले पार्टी विभाजन नचाहेको भन्दै अदालतको फैसलाअनुसार २०७५ जेठ ३ भन्दा अगाडिकै संरचनामा जानुपर्ने अडान राखेको नेता नेपाल निकट एक नेताले जानकारी दिए। 
‘हामी प्रस्ट छौं। पार्टीलाई विभाजन हुनबाट रोक्नुपर्छ भन्ने हाम्रो एकमात्र माग हो,’ नेता नेपाल निकट एक नेता भन्छन्, ‘फागुन २८ यता भएका निर्णय बदर गरेर २०७५ जेठ ३ भन्दा अघिको अवस्थामा फर्किएमा एमाले विभाजन हुँदैन।’ अध्यक्ष ओलीले चाहेमा विवाद मिल्न समस्या नरहेको उनले बताए। ती नेताका अनुसार यसका लागि ओलीले विभिन्न नेतामाथि गरेको कारबाही फिर्ता लिनुपर्छ। 
नेता सुरेन्द्र पाण्डेले अर्थमन्त्री एवम् नेता पौडेलसँग आधा घन्टा कुराकानी भएको जानकारी दिँदै ठोस निष्कर्ष केही नभएको बताए।
 ‘हामी पार्टी एकता नै चाहिरहेका छौं। त्यसका लागि अध्यक्षले नै वातावरण बनाउनुपर्यो भन्ने कुरा गरेका हौं,’ उनले भने, ‘सामान्य कुराकानी भएको हो। यसलाई सकारात्मक रूपमा लिनुपर्छ।’

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीसँग पनि छलफल गरेकी थिइन्। बिहीबार नै ओली र नेपालबीच टेलिफोनमा कुराकानी भएको थियो।

अदालतको फैसलाअनुसार २०७५ जेठ ३ भन्दा अगाडिको पार्टी संरचनामा नगएर अध्यक्ष ओलीले पुस ५ को संसद विघटनपछि तत्कालीन नेकपा हुँदाको संरचनालाई नै निरन्तरता दिएपछि माधव–झलनाथ पक्ष पनि समानान्तर रूपमा अघि बढेको छ।

एमालेको माधव–झलनाथ पक्षले अदालतको फैसला अनुसार पार्टी गतिविधि अगाडि नबढाएको भन्दै देशैभर समानान्तर कमिटी बनाएर अघि बढेको छ।
वैशाख २७ गते प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिने निर्णय गरेपछि एमाले एक रहन्छ वा फुटेर जान्छ भन्ने निर्णायक समय आएको छ।

नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिनेसम्मको तयारीमा देखिएपछि ओली पक्ष पनि गम्भीर बनेको छ।

पार्टीमा देखिएको विवाद समाधान गर्नका लागि बिहानै देखि एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपीशर्मा ओली बालुवाटारमा छलफल गरिरहेका छन्। 
 

प्रकाशित: May 07, 2021| 04:19 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।