काठमाडौं - बागमती प्रदेश राष्ट्रियसभा सदस्य उपनिर्वाचनको उम्मेदवारको मनोनयन दर्ता आज हुँदैछ। जेठ ६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज मनोनयन दर्ता गर्ने मिति तोकेको हो।
उम्मेदवारले विहान १० बजेदेखि दिउँसो चार बजेसम्म आफ्नो मनोनयन दर्ता गर्न सक्नेछ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एमालेको माधव पक्षले साझा उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरि सकेको छ। देवकोटा मनोनयन दर्ताका लागि हेटौंडासमेत पुगि सकेका छन्। उनले सामाजिक संजालमार्फत आफु मनोनयन दर्ता गर्न हेटौंडा पुगेको जानकारी गराएका छन्।
यता नेकपा एमालेले भने उम्मेदवार मनोनयन गर्ने दिनसम्म पनि उम्मेदवारको निर्णय गरेको छैन। सुरुमा रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने भने पनि टुङ्गो लागिसकेको छैन। उम्मेदवारको टुंगो लगाउन हिजो स्थायी कमिटीको बैठक बसे पनि निर्णय हुन सकेन।
माधव नेपाल निकट रहेका देवकोटालाई विपक्षी गठबन्धनले साझा उम्मेदवार बनाएपछि बागमती प्रदेशमा एमाले पक्षको कमजोर स्थिती हुने देखिएको छ।
पराजित हुने चुनाव नलड्ने बादलले अडान लिएपछि हिजो उनको नाम टुंगो नलागेको बुझिएको छ। एमाले एकतावद्व भएको अवस्थामा मात्रै बागमतीमा बहुमत मत देखिन्छ। नत्र माधव नेपाल समेत सहयोगमा विपक्षी गठबन्धनको उम्मेदवार नै विजयी हुने देखिएको छ।
