बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महामारी नियन्त्रणबाहिर, भारतको जस्तै भयावह हुने चिन्ता

महामारी नियन्त्रणबाहिर, भारतको जस्तै भयावह हुने चिन्ता

कोभिड–१९ संक्रमितको संख्या बढ्दै जाँदा अस्पताल भरिएका छन्। प्रधानमन्त्रीले अन्य देशसँग सहयोगको याचना गरिरहेका छन्। नेपालमा यति बेला क्रन्दनयुक्त अवस्था विकसित भइरहेको छ जुन पूर्वअनुमान गरिएको थियो।
 |  शुक्रबार, वैशाख २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २४, २०७८

काठमाडौं– कोभिड–१९ संक्रमितको संख्या बढ्दै जाँदा अस्पताल भरिएका छन्। प्रधानमन्त्रीले अन्य देशसँग सहयोगको याचना गरिरहेका छन्। नेपालमा यति बेला क्रन्दनयुक्त अवस्था विकसित भइरहेको छ जुन पूर्वअनुमान गरिएको थियो।

दैनिक प्रति एक लाख जनामा २० जनालाई कोभिड देखिन थालेको छ। यो आँकडा ठीक दुई साताअघिको भारतको अवस्थासँग मेल खान्छ।

‘भारतमा जे भइरहेको छ त्यो नेपालमा भोलिका दिनमा हुनसक्ने भयानक डर छ। हामीले तीव्र रुपमा बढिरहेको संक्रमण अहिले नै रोक्न सकेनौं भने यसले प्रत्येक मिनेटमा एक जनाको मृत्यु गराउन सक्छ,’ नेपाल रेडक्रसका अध्यक्ष नेत्रप्रसाद तिमिल्सिनाले भनेका छन्।

गत साता सरकारले उपलब्ध गराएको तथ्यांकअनुसार परीक्षण गरिएका ४४ प्रतिशतमा कोभिड संक्रमण देखिएको थियो। त्यसपछि अन्तर्राष्ट्रिय रेडक्रसले पनि अवस्था संकटोन्मुख भएको चेतावनी दिएको थियो।

स्राेत ः जाेन हप्किन्स युनिभर्सिटी। 

बढ्दो संक्रमणले भारतको भन्दा खराब अवस्था नआए पनि भारतको जस्तै भयावह स्थिति आउने हो कि भन्ने आशंका उत्पन्न भएको छ। यद्यपि नेपालको स्वास्थ्य सेवाको प्रणाली कमजोर छ। नेपालमा भारतमा भन्दा प्रति व्यक्ति डाक्टरको संख्या कम छ। अधिकांश संक्रमितलाई नियन्त्रणको दायरामा ल्याउन नसकिएको पुष्टि भएको छ। यस्तै कोरोनाविरुद्धको खोप पनि थोरै मानिसले मात्र लगाएका छन्।

सर्वसाधारणले ढुक्क भएर काम गर्दा संक्रमण फैलिएको हो। अझ पछिल्ला दिनमा आयोजना गरिएका राजनीतिक जमघट, सार्वजनिक भेला, विवाह, भोजभत्तेर, जात्रापर्व आदिका संक्रमण तीव्र हुन थाल्यो। 

‘स्थिति दिनप्रतिदिन बिग्रंदै छ र भोलिका दिनमा अवस्था नियन्त्रणबाहिर जान सक्छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारी भन्छन्।

संक्रमण व्याप्त भएको काठमाडौं उपत्यकालगायतका जिल्लामा निषेध आदेश जारी गरिएको छ। सीमामा कडा नियन्त्रण गरिए पनि त्यसले संक्रमणलाई रोक्न नसक्ने डर व्याप्त छ। केहीले संक्रमण सगरमाथा आधार शिविरसम्म पुग्न सक्ने आशंका गरेका छन्।

कमजोर सीमा सुरक्षा

करिब तीन करोड जनसंख्या रहेको नेपालमा एक महिनाअघि मात्र संक्रमण दर दिनको एक सय हाराहारीमा थियो। अहिले संक्रमण दर दिनको ८ हजार ६ सय पुगेको छ।

भारतमा दोस्रो लहरको संक्रमण बढेसँगै यसको असर नेपालमा पर्ने धारणा केहीको थियो। कारण नेपाल र भारतबीच लामो क्षेत्र खुला सीमा छ।

कयौं नेपाली भारतमा रोजगार तथा व्यवसायमा आबद्ध छन्। उनीहरुले स्वदेश फर्कने बेला सीमामा पासपोर्ट वा कुनै परिचयपत्र देखाउनु पर्दैन। त्यस्तै अवस्था भारतीयको पनि छ। जसले सीमामा बाक्लो आउजाउको हुन्छ।

डा. अधिकारीका अनुसार पछिल्लो केही साता कयौं भारतीय नेपालमा स्वास्थ्य सुविधा पाइने आसमा नेपाल प्रवेश गरेका छन्। यस्तै नेपालबाट तेस्रो मुलुक जान खोज्ने भारतीय पनि नेपाल आउने गर्छन्। ‘दुई देशबीचको आवतजावत रोक्न बडो कठिन छ,’ उनले भने।

निषेध आदेशकाे पहिलाे दिन (वैशाख १६) बन्द भएका पसलहरू। 

पछिल्ला केही दिनमा नेपालले केही कडा नियम लागू गरेको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतसँगको ३५ सीमामध्ये अब १३ वटा सीमाबाट मात्र स्वदेश छिर्न पाउने व्यवस्था गरिएको बताएका छन्। सीमा क्षेत्रमा कोरोना परीक्षण गर्न सुरु गरिएको छ।

बाँके जिल्लाका सहायक सीडीओ शंकरबहादुर विष्टले नेपाल आउनेहरुको सीमामा परीक्षण गर्न थालिएको बताए। ‘ज–जसलाई कोरोना संक्रमण देखिँदैन उनीहरु घर जान पाउनेछन् तर संक्रमण देखिएकाहरुले क्वारेन्टिन वा अस्पताल जानुपर्छ,’ उनले भने। सीमामा पहिले कडा गरिएको भए अवस्था यस्तो नआउने विज्ञ बताउँछन्। ‘यो प्रावधान ढिलो गरी आयो,’ जनस्वास्थ्य अनुसन्धानकर्मी डा. समीरमणि दीक्षित भन्छन्, ‘त्यतिबेलासम्म त देशभित्रै भाइरस फैलिन थालिसकेको थियो।’

प्रधानमन्त्रीको हास्यास्पद तर्क र ठूलो जमघट

अप्रिल सुरुमा प्रधानमन्त्री केपी ओलीले कोरोनाको उपचारका लागि अप्रमाणित तथ्यलाई प्रस्तुत गरेपछि महामारी झन् बढेको  हो।

प्रधानमन्त्री ओलीले अम्बाको पात चपाएर कोरोना भगाउने कुरा सुनाए। अघिल्लो वर्षको महामारीका बेला पनि प्रधानमन्त्री ओलीले नेपालीको मसालेदार खानाका कारण प्रतिरक्षा शक्ति बलियो भएको हास्यास्पद तर्क प्रस्तुत गरेका थिए।

वैशाख लाग्दै गर्दा नेपाल र भारतमा निर्बाध रुपमा जात्रापर्व मनाइए। कुम्भ मेलामा नुहाउनेको भीड लाग्यो। कुम्भ मेलामा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र तथा रानी कोमल भारत गएका थिए। नेपाल फर्किएपछि उनीहरु दुवैमा कोरोना देखिएपछि स्थानीय नर्भिक अस्पतालमा भर्ना भएका छन्।

सोही समयताका प्रशासनको निर्देशनविपरीत पाँचह्रे मनाउने क्रममा भीडभाड बढ्यो। भक्तपुरमा बिस्का जात्रा मनाइयो। जात्रा मनाइरहँदा एउटा प्लेकार्डमा लेखिएको थियो, ‘हामीलाई हाम्रो ज्यानभन्दा जात्रा प्यारो छ।’

अप्रिल २५ मा देशमा २ हजार नयाँ संक्रमण देखिएको थियो, सोही बेला प्रधानमन्त्री ओली भीडभाडमाझ पुनर्निर्मित धरहरा उद्घाटन गर्दै थिए।

धरहरा उद्घाटन भएको पाँच दिनपछि अर्थात् संक्रमण दर दोब्बर भएर दिनकै ४८ सय पुग्न थालेपछि सरकारले निषेध आदेश लागू गर्‍यो। भोलिपल्ट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थिति सम्हाल्नै नसकिने भएको स्वीकार गर्यो।

वैशाख ११ मा प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराकाे उद्घाटन गरेका थिए। 

अप्रिल ३० मा स्वास्थ्य मन्त्रालयले एउटा विज्ञप्ति जारी गरेर भन्यो, संक्रमणको बढ्दो दर देशको विद्यमान स्वास्थ्य प्रणालीको नियन्त्रणबाहिर पुगेकाले संक्रमितहरुको हेरचाहका लागि अस्पतालमा बेड उपलब्ध गराउन सकिने अवस्था छैन।

प्रधानमन्त्री ओलीले सोमबार देशवासीको नाममा गरेको सम्बोधनमा सरकारले आफ्नो तर्फबाट हरसम्भव प्रयास गरे तापनि भाइरस फैलिएको बताए।

ओलीले भने, ‘हामी एकअर्कासँग जोडिएका र अन्तरसम्बन्धित संसारमा छौं। यस्तो महामारीले कसैलाई पनि सुरक्षित राख्दैन र हामी कोही पनि सुरक्षित छैनौं।’

तर, सरकारको अकर्मयण्ताप्रति भने जनआक्रोश छ।

विज्ञ भन्छन्, दोस्रो लहरलाई रोक्नै सकिने अवस्था थिएन होला तर सरकारले नियन्त्रणका लागि गर्नुपर्ने काम त गर्नुपथ्र्यो।

राजनीतिक विश्लेषक सुरेन्द्र लाभ भन्छन्, ‘जात्रा पर्व, विवाहजस्ता सामाजिक क्रियाकलाप गर्न दिनु हुँदैनथ्यो, जसले गर्दा संक्रमण फैलियो।’

सरकार संक्रमण नियन्त्रणमा केन्द्रित हुनुपर्नेमा आफ्नै राजनीतिक रस्साकस्सीमा व्यस्त देखिएको उनको भनाइ छ।

सस्टेनेबल स्टडी एन्ड रिसर्च इन्स्टिच्युटका संस्थापक स्वास्थ्य विज्ञ सुरेश पन्थी भन्छन्, ‘पहिलो लहरपछि नेपाल महामारी नियन्त्रणमा जागरुक देखिएन।’

सीमा क्षेत्रमा संक्रमण बढिरहँदा फर्कनेलाई क्वारेन्टिनको व्यवस्था गर्न नसक्नु एउटा लापरबाही रहेको उनको भनाइ छ। ‘समय थियो तर तयारी नै गरिएन,’ पन्थी भन्छन्।

गत वर्षको मेमा सरकारको कोभिड–१९ प्रतिकार्य योजनाअनुसार देशमा १ हजार ५ सय ९५ वटा आईसीयू बेड र ४ सय ८० वटा भेन्टिलेटर रहेको बताएको थियो। तर यो नेपालको जनसंख्याअनुसार असाध्यै न्यून हो।

नेपालमा डाक्टरको पनि कमी छ। विश्व बैंकको तथ्यांकअनुसार नेपालमा प्रति १ लाख मानिसका लागि ०.७ चिकित्सक छन्।

लामो समय बिदा बसेका स्वास्थ्यकर्मीलाई काममा बोलाइएको छ भने नेपाली सेनाले पनि अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई सतर्क रहन निर्देशन दिएको छ। सेनाले भारतबाट आउने नेपालीलाई लक्षित गर्दै स्वास्थ्य सेवा विस्तार गरेको छ।

निषेध आदेश लागू हुनु एक दिनअघि (वैशाख १५) गाउँ फर्कन काठमाडाैंस्थित बस काउन्टरमा टिकट लिन पुगेका यात्रुहरू।

देशका ७७ जिल्लामध्ये २२ जिल्लामा बेडको अभाव देखिएको छ। नेपालगन्जको कोभिड वार्डमा कार्यरत वरिष्ठ फिजिसियन डा. पारस श्रेष्ठले अस्पतालमा चाप बढेका कारण सामान्य लक्षण देखिएका बिरामीलाई घरमै बस्ने सल्लाह दिइरहेको बताए।

‘नेपालगन्जको अवस्था गम्भीर छ,’ युनिसेफको फिल्ड अफिस प्रमुख दीपक श्रेष्ठले भने, ‘यही अवस्था अन्त पनि हुन सक्छ।’

दोस्रो लहरले भारतमा नराम्रो अवस्था सिर्जना गरेपछि नेपाल सरकार पनि नियन्त्रणकारी कार्यमा लागिपरेको छ। तर महामारी जोखिम नियन्त्रण प्रयास त्यति प्रभावकारी देखिएको छैन।

अक्सिजनको माग बढ्न थालेपछि गत साता २० हजार थान अक्सिजनका सिलिन्डर विदेशबाट झिकाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

सुदूरपश्चिम प्रदेशमा २ सय शय्याको आइसोलेसन सेन्टर बनाइएको छ र २ हजार शय्याको व्यवस्था गरिएको छ तर त्यहाँ अक्सिजन सिलिन्डरको अभाव छ।

चुनौतीहरु पेचिला छन्

नेपालमा भारतको भन्दा दोब्बर संक्रमण दर छ। अधिकांश संक्रमितको पहिचान हुने गरेको छैन।

पहिलो लहरपछि नै परीक्षणलाई सुदृढ पारिएको छ। सुरुमा परीक्षणका लागि हककङ पठाउने गरिएकोमा अहिले दिनकै २० हजारको परीक्षण हुने गरेको छ। ‘यत्तिले मात्रै पुग्दैन,’ पन्थी भन्छन्।

सगरमाथा आधार शिविरमा भएका घटनाको वास्तविक रिपोर्ट आएको छैन। त्यहाँ भएका दुई स्रोतले सीएनएनलाई जनाएअनुसार केही सातामा कोभिड शंका गरिएका दर्जनौं केस थिए। तर, पर्यटन विभागले त्यस्तो घटना नभएको दाबी गरेको छ।

भक्तपुरमा मनाइएकाे बिस्काकाे पहिलाे दिन (चैत १०) जात्रा हेर्दै भक्तजन। 

अर्को कुरा नेपालमा खोप लिएकाहरुको संख्या न्यून छ। गत महिनाको अन्त्यसम्ममा ७.२ प्रतिशत जनसंख्याले मात्र एक डोज लिएका थिए। यो भारतको भन्दा कम हो जहाँ १० प्रतिशतले खोप लिएका थिए।

‘सरकारले सक्दो प्रयास गरिरहेको छ,’ स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. अधिकारीले भने, ‘तर नेपालको स्वास्थ्य सेवा प्रणाली कमजोर छ।’

अब के होला ?

आगामी केही साता नेपालमा संक्रमण नियन्त्रणका लागि चुनौतीपूर्ण हुने देखिन्छ। गत बिहीबारदेखि काठमाडौंमा दुई साता लामो निषेध आदेश लागू गरिएको छ। तर निषेध आदेश लागू हुनुपूर्व नै प्रवासी श्रमिक फर्किएका थिए।

गाउँमा वृद्धवृद्धाको संख्या अधिक छ। स्वास्थ्य सेवा सीमित छ यस्तो अवस्थामा प्रवासी श्रमिकले संक्रमण फैलाएको हुन सक्ने डर छ। डा. अधिकारी भने यसमा सहमत छैनन्। उनी भन्छन्, निषेध आदेश जारी हुनुअघि प्रवासीहरुको फिर्तीले अर्को ठूलो संकट ल्याउला कि भनेर अहिल्यै भन्नु अलि हतार हुन्छ। उनले पनि केही साता स्थिति थप भयावह हुने बताए। उनले भने, हामी सक्दो प्रयास गरिरहेका छौं।’

सरकारी अधिकारीहरु संक्रमणलाई सीमित पार्न अन्य उपाय पनि अवलम्बन गरिरहेका छन्। मे ६ मा प्रधानमन्त्रीले टेलिभिजन सम्बोधन गर्दै सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिएको घोषणा गरे। देशका ५० भन्दा बढी जिल्लामा निषेध आदेश लागू गरिएको छ।

काेभिड-१९ बाट मृत्यु भएका व्यक्तिकाे दाहसंस्कारका बेला शाेकमा रहेका आफन्त। 

नेपालगन्जका फिजिसियन दीपक श्रेष्ठ यदि मानिसले निषेध आदेश पालना गरेर धैर्य गरे भने संक्रमणको संख्या घट्न सक्ने बताउँछन्।

तर दीक्षित भन्छन्, नियम परिवर्तन भइरहेका छन् र तिनलाई पालना गर्न मानिसलाई गाह्रो भइरहेको छ।

पन्थी भने निषेध आदेश गरेर मात्र संक्रमण दर नघट्ने बताउँछन्। उनी भन्छन्, ‘सरकारले क्लोज कन्ट्याक्ट भएकाहरुको परीक्षण, संक्रमितलाई आइसोलेट,  सीमामा राम्रो व्यवस्थापन तथा अक्सिजन आपूर्ति बढाउनुपर्छ।’

निषेध आदेशको मूल्य चुकाउनुपर्ने अवस्था देखिन थालेको छ। ४५ वर्षीया गीता कुचिकारले आफ्नो जागिर गुमाएकी छिन्। उनलाई यति बेला स्वास्थ्य सुरक्षाका साथै तीन बालबच्चालाई कसरी पढाउने भन्ने चिन्ता छ।

‘भारतमा जस्तै नेपालमा पनि बिरामी बढिरहँदा मलाई डर लाग्न थालेको छ,’ उनी भन्छिन्, ‘हाम्रो सरकारले स्थिति कसरी सम्हाल्ने हो कुन्नि?’

पशुपतिनाथ मन्दिरनजिक काेभिड-१९ संक्रमित व्यक्तिकाे शव अन्त्येष्टि गरिँदै।  

आउँदा दिनमा केही पर्व नजिकिँदै छन्। रातो मच्छिन्द्रनाथको जात्रा यो महिनाको अन्तमा सुरु हुुँदै छ। सरकारले जात्रामा मास्कको अनिवार्य प्रयोग गर्ने तथा भौतिक दूरी कायम गर्ने जनाएको छ।

तर जात्राको समयमा सर्वसाधारणले निषेध आदेश पालना गर्नेमा शंका व्यक्त गर्छन् स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतम।

‘निषेध आदेशका समयमा केही जात्रापर्व पर्नेछन्। तर सरकारले केही भन्न सक्ने अवस्था छैन,’ गौतमले भने, ‘अब स्थिति नेपाल प्रहरीको जिम्मामा छ।’ गौतमले स्वास्थ्य सतर्कता अपनाउनुस् भन्दा–भन्दा आफूहरु थाकिसकेको बताए। 

(सीएनएनमा प्रकाशित यो सामग्री महेश्वर आचार्यले भावानुवाद गरेका हुन्।)

प्रकाशित: May 07, 2021| 00:35 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।