काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ नेता माधवकुमार नेपाललाई एमालेभित्रको विवाद साम्य पारी पार्टी एकता जोगाउन आग्रह गरेकी छन्।
बिहीबार साँझ शीतल निवास पुगेका नेता नेपाललाई राष्ट्रपति भण्डारीले यस्तो आग्रह गरेको नेपाल निकट स्रोतले जनायो।
साढे दुई घण्टासम्म भएको भेटमा राष्ट्रपति भण्डारीको भनाइ उधृत गर्दै स्रोतले भन्यो, 'पार्टी विभाजन भयो भने हामी सबैको अस्तित्व संकटमा पर्छ। त्यसैले जसरी पनि एक भएर अघि बढ्नुपर्छ।'
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीबाट रुष्ट नेपाल समूहले पार्टीका केही भ्रातृ संगठनसहित देशका विभिन्न जिल्ला कमिटीमा समानान्तर संगठन गरिसकेको छ।
यसबीचमा नेपाललाई सहमतिमा ल्याउन ओलीले वान टु वान वार्तादेखि विभिन्न प्रयास गर्दै आएका छन्। उनको प्रयास सफल हुन नसकेपछि राष्ट्रपति स्वयंले नै नेपाललाई मनाउन पहल गरेकी हुन्।
नेता नेपालले जबाफमा आफू सधैं पार्टी एकताका पक्षमा रहेको तर ओलीको दम्भ बाधक रहेको बताएका थिए। नेता नेपाललाई उधृत गर्दै स्रोतले भन्यो, 'हामी फुटका पक्षमा छैनौं। तर अध्यक्षले पार्टीमा गर्दै आएको मनोमानी रोक्नुपर्छ।'
नेता नेपालले अदालतको फैसलाअनुसार २०७५ जेठ ३ अघिकै संरचनामा लैजानुपर्ने आफूहरुको मान्यता रहेको र पार्टी अध्यक्ष यसमा गम्भीर भए एकता कायमै रहने जवाफ दिएका थिए। विवादकै बीच २७ गते ओलीले संसद्बाट विश्वासको मत लिँदै छन्। उता नेपाल समूह भने विपक्षी कांग्रेससँग छलफल गर्न सक्रिय छ।
यस्तै एमाले नेपाल समूहका एमाले सांसदले सामूहिक राजीनामा दिने बताउँदै आएका छन्। सोही क्रममा राष्ट्रपतिले नेपालसँग भेटवार्ता गरेकी हुन्। भण्डारी र नेपालबीच समसामयिक राजनीतिक परिस्थिति, संसद्को आसन्न विशेष अधिवेशन, एमालेभित्रको विवाद, कोरोना महामारीले निम्त्याएको संकट लगायतका विषयमा कुराकानी भएको बताइएको छ।
वरिष्ठ नेता नेपाल कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि बूढानीलकण्ठबाट सीधै राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेका थिए।
