‘पर लैजाऊ फूलहरू
छोपिदेऊ तारा जून
बन्द गर गीतहरू
तिम्रा याद आउने सबै चिजहरू...’
हामीमाझ यस्तै सदाबहार गीत छाडेर गायक तथा संगीतकार प्रेमध्वज प्रधान सधैँका लागि हामीबाट पर गएका छन्। तर माथि गीतमा भनिएझै उनको याद दिलाउने उनका ती कालजयी गीतहरु अब बन्द हुने छैनन्, बरु झन्झन् गुन्जिरहनेछन् सदाझै, उनकै सम्झनामा।
बिहीबार काठमाडौं, सुन्धारास्थित न्यूरो अस्पतालमा ८५ वर्षको उमेरमा प्रधानको निधन भयो। वि.स. १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा जन्मिएका प्रधान नेपालको ‘गोल्डेन भ्वाइस’ भनेर पनि चिनिन्छन्। वि.स. २००९ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिन गएका उनी ‘क’ श्रेणीमा पास भएका थिए। ‘घुम्तीमा नआऊ है’, ‘नमान लाज यस्तरी’, ‘देउरालीमा बतास चल्यो’ लगायत दर्जनौँ कालजयी गीत गाएका प्रधानको निधनमा आज सिंगो संगीत जगत स्तब्ध भएको छ।
‘उहाँ नेपाली संगीतको विश्वविद्यालय नै हुनुहुन्थ्यो,’ प्रधानलाई सम्झदै गायक राजेशपायल राई भन्छन्, ‘मसँग उहाँको निकै राम्रो सम्बन्ध थियो। अत्यन्तै मिजासिलो हुनुहुन्थ्यो। नातिकाजीको संगीतमा गीत गाउने केटो भनेर पनि उहाँले मलाई निकै प्रेम गर्नुहुन्थ्यो। खासमा ‘हाइ नोट’ मा गीत गाउनलाई ‘लो नोट’ चाहिन्छ भनेर मलाई सिकाउने मान्छे नै उहाँ हो।’
राजेशपायलको सांगितिक पुस्तकको अन्त्यतिर प्रधानले टिप्पणीसमेत लेखिदिएका छन्। राजेशपायल पहिले काठमाडौं, बागबजारस्थित उनको घर गइरहन्थे। तर, पछिल्लो समय महामारी र व्यस्तताका कारण जान पाएका थिएनन्। ‘मलाई प्रेम दाइलाई हार्मोनियम बजाउनुहुन्छ जस्तो लाग्थेन,’ राई सम्झन्छन्, ‘तर, एकपल्ट उहाँको घरमा जाँदा उहाँले हार्मोनियम बजाउनुभयो, म चकित भएँ। त्यतिबेला उहाँले आफ्नो चर्चित गीत पर लैजाउ फूलहरु गीत गाएर सुनाएको म अझै सम्झन्छु। खासमा उहाँ त्यस्तो बिरामी भइरहने मान्छे पनि होइन। स्वास्थ्यप्रति निकै सचेत हुनुहुन्थ्यो। पिरो अमिलो केही खानुहुन्थेन। ’
एकपल्ट राजेशले भनेका पनि रहेछन्, ‘दाइ, मलाई चाँहि पिरो अमिलो एकदमै चाहिन्छ, मेरो त बेस्ट हो।’ त्यतिबेला प्रधानले जवाफ फर्काएछन्, ‘आ–आफ्नो शारीरिक पाचन क्षमताको कुरा पनि हो। मचाँहि पहिल्यैदेखि खाइनँ, त्यसैले अहिले पनि खान्नँ। ’
प्रेमध्वज सधैँ आमा प्राणदेवीलाई आफ्नो पहिलो गुरु मान्थे। आमाले राजदरबारमा तबला र हार्मोनियमको तालिम लिएकी थिइन्। उनका बुबा रत्नध्वज प्रधान पनि कलाकार नै थिए। आमा तुलधार र बुबा प्रधान थरका भएका कारण राणाकालीन त्यो समयमा उनीहरुको प्रेमविवाहलाई परिवारले स्वीकारेको थिएन। त्यसैले ६ वर्षको हुँदा उनको आमाबुवाको डिभोर्स भयो। प्रेमध्वज स्वयम् आफ्नो बाल्यकाल खासै सुःखद हुन नसकेको मिडियासँग बेलाबखत भन्ने गर्थे।
‘घुम्तीमा नआऊ है’ गाएका प्रेमध्वजले जीवनमा अनेक घुम्ती पार गरे। कहिले बाबुको कपडा पसलमा काम गरे, कहिले ट्युसन पढाए त कहिले अमेरिकन लाइब्रेरीको सूचना केन्द्रमा टाइपिस्टको जागिर। तर, स्थायी हिसाबले उनको मन कतै अडियो त त्यो सायद संगीतमै थियो।
उनी आमा प्राणदेवी, उस्ताद गणेशलाल श्रेष्ठ र भारतीय संगीतकार जयदेवलाई आफ्नो सांगीतिक जीवनका तीन गुरु मान्थे। ‘हार्मोनियम र तबला घरमै थियो। मैले पहिलो स्पर्श गरेका बाजा यीनै हुन्। आमा तबला बजाइराख्नु हुन्थ्यो। स्वर, मात्रा, त्रिताल, गठ आदिबारे जानकारी आमाबाटै पाएँ। उहाँले रेडियो नेपालमा समेत गीत र भजनहरू गाउनुभएको थियो। गाउन र बजाउन जेजति सिकेँ त्यसमा आमाको भूमिका मुख्य छ,’ केही समयअघि उनले सेतोपाटीसँगको कुराकानीमा भनेका थिए।
प्रेमध्वजले पलेंटी श्रृंखलामा गएर करिब तीन–चार पटक स्टेज प्रस्तुति दिए। पलेंटीका संयोजकसमेत रहेका संगीतकार आभाष उनको सरल र नम्र स्वभाव सम्झँदै भन्छन्, ‘गीत त राम्रो गाउनुहुन्थ्यो भनेर मैले भनिरहनुपरेन। तर, उहाँ बोल्दा पनि कसैलाई नबिझाउने खालको हुनुहुन्थ्यो। नम्र भएर बोल्नुहुन्थ्यो। उहाँको कुरा सुन्नलाई कहिलेकाँही नजिकै कान थाप्नुपथ्र्यो।’
आभाष उनको गायनलाई माधुर्य र शक्तिशाली भनेर टिप्पणी गर्छन्। नेपाली आधुनिक संगीतलाई त उनी र उनको पुस्ता कहिल्यै बिर्सन नसकिने गुण लगाएको उनी बताउँछन्।
‘उहाँ धेरै जोक गर्ने, त्यस्तो जोली टाइपको मान्छे हुनुहुन्थेन’, आभाष सम्झन्छन्, ‘एकदमै गम्भीर स्वभावको हुनुहुन्थ्यो। जहिल्य पनि गीतसंगीतकै बारेमा, आफ्नो साधनाको बारेमा, आफ्नो खानपानको बारेमा धेरै सचेत हुनुहुन्थ्यो।
दुर्भाग्यवश अहिले उहाँ बित्नुभयो तर जतिन्जेल रहनुभयो उहाँले धेरैजसो अस्वस्थ समय बाँच्नुभएन। मेरो त उहाँसँगको संगत बढीजसो संगीतकै नोटहरुमा थियो। उहाँ ठूला या सानो जस्तो संगीत गरे पनि मिहनेतपूर्वक गर्नुहुन्थ्यो।’
आभाषको संगीतमा प्रेमध्वजले ‘मायाले दिने मखमली फूल’ बोलको गीत त गाए तर पलेंटीको फेस्टिभलमा मात्रै। त्यो गीत स्टुडियोमा रेकर्ड हुन पाएन। पछिल्लो समय आभाष फत्तेमानसँग जस्तै उनीसँग एल्बम नै गर्न चाहन्थे। प्रेमध्वजको पनि आभाषसँग काम गर्ने रुचि थियो। तर ‘गरौँ, गरौं’ भन्दाभन्दै कहिले आवाज, कहिले स्वास्थ्य त कहिले लकडाउनका कारण हुन सकिरहेको थिएन। ‘अब त अधुरै रह्यो,’ आभाष भावुक सुनिए।
प्रेमध्वज र आभाषबीच धेरैजसो अन्तरंग पलेंटीकै क्रममा भयो। पलेंटीबाटै प्रस्तुति दिन प्रेमध्वज अष्ट्रेलियासम्म पुगे। ‘उहाँको अरुजस्तै त्यस्तो उच्छलकुद खालको स्वभावको थिएन, त्यसैले उहाँसँग मेरो सांगीतिक र सरल खालको सम्झनामात्रै छ,’ आभाष भन्छन्।
प्रेमध्वजले रेडियो नेपालमा स्वर परीक्षा दिँदा गाएको गीत हो– ‘याद कसैको आइरहेको यो अँधेरी रातमा’। जसमा शब्द र संगीत थियो, उस्ताद भैरवबहादुर थापाको। थापा नेपालको पहिलो फिल्म ‘आमा’की अभिनेत्री भुवन चन्दका बुवा थिए। ‘बुवाहुँदा उहाँ डेरामा आइरहनुहन्थ्यो, संगीतमा उहाँलाई बुवाले धेरै प्रेरित गर्नुहुन्थ्यो,’ भुवन सम्झिन्छिन्, ‘सायद त्यतिबेला म ८–९ वर्षकी थिएँ। पछि उहाँले बिहे पनि मेरै कलेजको सबैभन्दा ब्यूटीफूल भनेर चिनिएकी साथी किरणकुमारीसँग गर्नुभयो। कहिल्यै कसैलाई नराम्रो नभन्ने मिलनसार स्वभावको हुनुहुन्थ्यो। आज बित्नुभयो भन्दा साह्रै नराम्रो लागेको छ।’
बाल्यकालदेखि नै प्रेमध्वजको हिन्दी गीतप्रति निकै झुकाव थियो। वि.स. २०२३ सालमा प्रदर्शन भएको सिनेमा ‘माइतीघर’मा त उनले भारतीय गायिका उषा मंगेषकरसँग गीत गाउने मौका नै पाए। र, त्यही गीत ‘नमान लाज यस्तरी’ सुपरडुपर हिट भइदियो। यही गीतका क्रममा भारतीय संगीतकार जयदेवसँग उनको सम्बन्ध जोडिएको थियो।
जयदेवले नै उनलाई मुम्बईमा संगीत उत्पादनको प्रक्रियादेखि पार्श्व गायनका टेक्निकबारे धेरै कुरा सिकाए। त्यही कारण प्रेमध्वज उनलाई संगीतमा आफ्नो तेस्रो गुरु मान्थे।
प्रेमध्वजले आफ्नो जीवनकालमा धेरै गीत गाए। कति रेडियो नेपालमा गाए, कति नेवारीमा गाए त कति फिल्मका लागि। एकपटक फिल्म ‘मायालु’ का लागि गाएका थिए, ‘टाढा भई गयौ फेरि...’। र, जाँदाजाँदै आज त्यही गीत सम्झाएर हामीबाट टाढा भए।