काठमाडौं- नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनले संसदमा विश्वासको मत नपाउने जानेर पनि प्रधानमन्त्री केपी शर्मा ओली अन्य कुनै असंवैधानिक बाटोतिर जान खोजिरहेको बताएका छन्।
संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। ‘अधिवेशन आह्वान गर्ने र विश्वासको मत लिनेमा राजनीतिक इमान्दारिता देखिदैन’, उनले भने।
नेता पुनले प्रधानमन्त्री ओली जसरी पनि संसद विघटन गरेर अर्लि इलेक्सनमा जान चाहिरहेको बताए। ‘गत वर्ष कोभिड महामारीका बीचमा वैशाख २६ गते संसदको वर्खे अधिवेशन बोलाइएको थियो, अहिले २७ गते विशेष अधिवेशन बोलाइएको छ’, उनले भने, ‘एमाले र माओवादी केन्द्र पूर्ववत् रुपमा फर्किँदा हामीले विश्वासको मत लिनुपर्छ भन्दा नलिने। अहिले लिन खोज्नुमा प्रधानमन्त्रीको अराजनीतिक नियत देखिन्छ।’
समर्थन गर्दै आएको माओवादी केन्द्रले समर्थन फिर्ता लिएको र आफ्नो पार्टीमा पनि विवाद भएका बेला विश्वास पाउने वातावरण नभएको उनको भनाइ छ। कोरोना रोकथाम गर्न नसकेको कुरालाई विषयान्तर गर्न खोजेको उनले बताए।
‘लुम्बिनीमा जसरी चलखेल भयो त्यसै हिसाबले यहाँ गर्न खोज्नुभएको छ। उहाँले अरु कसैले विश्वासको मत नपाउने र आफू नै हो भनेर संसद विघटन गरेर विषयान्तर गरेर अरु ठाउँमा नै राजनीतिलाई विषयान्तर गर्न खोजिरहनुभएको छ’, उनले भने, ‘फेरि अराजनीतिक, असंवैधानिक र अलोकतान्त्रिक ढंगले काम गर्न खोजेको प्रष्ट देखिएको छ।’
प्रधानमन्त्रीले असंवैधानिक काम गर्छन् भनेर नै आफूहरुले समर्थन फिर्ता लिन ढिलाइ गरेको उनले प्रष्ट पारे।
प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि राजनीतिक समिकरण कसरी अगाडि बढ्छ भन्ने प्रश्नमा उनले लोकतान्त्रिक मूल्य मान्यताअनुसार संसदभित्रै विकल्प खोजिने बताए।
‘उहाँले मार्गप्रशस्त गर्नुपर्छ, राष्ट्रपतिले पनि त्यसपछि दुई वा दुईभन्दा बढी दलहरूलाई सरकार निर्माणका लागि आग्रह गर्नुपर्छ’, उनले भने।
