काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने ३ जनालाई गोंगबु बसपार्क आसपासबाट पक्राउ गरेको छ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जारी भएको निषेध आदेशको समयमा मौकाको फाइदा लिन खोज्ने पोखरा माईक्रो र बुटवल भैरहवा काउण्टरका कर्मचारीलाई बिहीबार बसपार्कबाट नियन्त्रणमा लिइएको हो।
काठमाडौंदेखि पोखरासम्मको नियमित भाडा ५०० र बुटवलसम्म १ हजार २०० तोकिएकोमा ५०० प्रतिशतसम्म बढी भाडा लिएको आरोपमा ३ जनालाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए। उनले पोखरा जाने यात्रुसँग ३ हजार ५०० रुपैयाँ र बुटवल जाने यात्रुबाट जनही ६ हजारका दरले भाडा लिन क्रममा पक्राउ गरिएको बताए।
उपत्यका छोडेर आफ्नो घर फर्किन खोज्ने यात्रुहरुलाई ग१ख ९६२१ मार्फत् पोखरा र बा४ख ५१९७ नम्बरको बसमार्फत् बुटवल जाने यात्रुहरुबाट बढी भाडा असुलेको हो।
पक्राउ पर्नेमा पोखरा माईक्रोमा काम गर्ने पोखरा–३३ घर भई काठमाडौंमा बस्ने ३२ वर्षीय बन्दराज पराजुली र रतुवामाई-९ मोरङ घर भई नेपालटार बस्ने २९ वर्षीय नवीन पौडेल छन्। त्यस्तै बुटवल भैरहवा काउण्टरमा काम गर्ने धादिङ थाक्रे-७ का २९ गर्षीय रन्जीत सिलवाल पनि पक्राउ परेको महाशाखाले जनाएको छ।
ट्राफिक प्रहरी महाशाखाले यस्तो विषम परिस्थितिमा हुन सक्ने यात्रु ठगी तथा आइपर्न सक्ने यातायातसम्बन्धी समस्या अनुगमनको लागि सादा पोशाकमा विशेष टोली परिचालन गरेको छ। टोलीले आँफै यात्रु बनेर भाडा मोलमोलाई गर्ने र बढी भाडा लिन खोज्नेलाई निग्रानीमा राखी नियन्त्रण गर्ने गरेको छ।
यात्रुसँग बढी भाडा लिने बाग्लुङ भगवती काउण्टरका कर्मचारी ३० वर्षीय मिलन सारुलाई महाशाखाले हिजो पक्राउ गरेको थियो।
पक्राउ परेका सबैलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी प्रभाग, बसपार्कमा बुझाइएको छ।
बढी भाडा लिएमा वा सार्वजनिक यातायातसम्बन्धी कुनै गुनासो भएमा प्रहरीको हटलाईन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ।
