काठमाडौं– श्रम मन्त्रालयले भोलि (शुक्रबार) बाट भौतिक उपस्थितिमा हुने श्रम स्वीकृति बन्द गरेको छ। बिहीबार रातिबाट अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै शुक्रबारबाट श्रम स्वीकृति बन्द गरिएको हो।
बुधबार बसेको श्रम मन्त्रालयको वैदेशिक रोजगार महाशाखा र वैदेशिक रोजगार विभागको बैठकले भौतिक उपस्थितिमा हुने श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेको विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले जानकारी दिए। उनले भने, ‘उडान नै बन्द भएपछि लकडाउनका बेला श्रम स्वीकृति खुला राख्नु उचित नदेखिएकाले बन्द गरिएको हो।’
श्रम कार्यालयहरुले श्रम स्वीकृति अत्यावश्यक सेवाभित्र नपर्ने भएकाले रोक्नका लागि वैदेशिक रोजगार विभागसँग आग्रह गरेका थिए। सोही आग्रह बमोजिम शुक्रबारबाट श्रम स्वीकृति बन्द गरिएको हो।
सरकारले कोरोनाको दोस्रो लहर फैलिएसँगै आन्तरिक उडान वैशाख २० गतेबाट र अन्तर्राष्ट्रिय उडान २३ गतेबाट बन्द गर्ने निर्णय गरेको थियो।
यद्यपि अनलाइनमार्फत हुने काम भने नरोकिने भएको छ। नयाँ र नवीकरण गर्नुपर्ने दुवैको हकमा अनलाइनमार्फत स्वीकृति लिन सकिने महानिर्देशक दवाडीले जानकारी दिए।
श्रम कार्यालय ताहाचलले सूचना जारी गर्दै भौतिक रुपमा उपस्थितबाहेक अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिने र सेवाग्राही उपस्थित हुनु नपर्ने कार्यहरु सीमित सेवा प्रवाहका रुपमा निरन्तरता दिने व्यव्वस्था मिलाइएको जनाएको छ।
अनलाइन सेवाबारे जानकारीका लागि शाखा अधिकृत शलिकराम फुयाँल ९८४१६२७७८३, शाखा अधिकृत माधवराज पाण्डे ९८४१३१०३२३ र कम्प्युटर इन्जिनियर अर्जुन यादव ९८४११४९३८० लाई सम्पर्क गर्न कार्यालयले अनुरोध गरेको छ।
