धनगढी– कञ्चनपुरको महाकाली अस्पताललाई स्थानीय तहले आर्थिक सहयोग गरेको छ। जिल्लाको भीमदत्त नगरपालिकाले अस्पताललाई २० लाख रुपैयाँ सहयोग गरेको हो।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट र उपप्रमुख सुशीला चन्दले संयुक्त रूपमा २० लाखको चेक हस्तान्तरण गरे।
कोरोना संक्रमितको उपचारका लागि आवश्यक सामग्री खरिदका लागि आर्थिक सहयोग गरेको नगर प्रमख विष्टले बताए। उनले अस्पतालमा आवश्यक अक्सिजन, आइसियु तथा भेन्टिलेटर सञ्चालन र व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले कोरोना महामारी रोक्न सबैले सहयोग गर्नुपर्ने बताए। यसअघि वेदकोट नगरपालिकाले पनि महाकाली अस्पताललाई १० लाख सहयोग गरेको अध्यक्ष जोशीले बताए।
