जनकपुरधाम– महोत्तरी मटिहानीकी एक महिलालाई कोरोना संक्रमण भएपछि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा रहेको कोभिड–१९ अस्पतालमा भर्ना गरियो। बुधबार दिउँसो भर्ना भएकी महिलाको स्वास्थ्य अवस्था नाजुक हुँदै जान थालेपछि उनलाई भेन्टिलेटरमा राखियो। तर उनलाई राखिएको केही घण्टा नबित्दै भेन्टिलेटर बिग्रियो।
भेन्टिलेटरले नै काम गर्न छोडेपछि उनको स्वास्थ्य बिग्रिँदै गइरहेको छोराले बताए। उनले भेन्टिलेटरका लागि चिकित्सकसमक्ष हारगुहार गर्दासमेत कुनै पहल नगरिएको गुनासो गरेका छन्।
प्रादेशिक अस्पताल जनकपुरधाममा ९ वटा भेन्टिलेटर रहेको कोभिड अस्पतालका संयोजक डा. जामुुन सिंहले जानकारी दिए। जसमध्ये ५ वटा अस्पतालमा भर्ना भएका बिरामीहरुको उपचारका लागि प्रयोग गर्न सकिने र बाँकी ४ वटा ट्रान्सपोर्ट भेन्टिलेटर रहेको डा. सिंहले बताए।
३ वटा भेन्टिलेटर पहिलेदेखि नै बिग्रिएको र एउटा यस वर्ष कोभिड अस्पताल सञ्चालनमा आएपछि बिग्रिएको उनको भनाइ छ। बाँकी रहेको एउटा भेन्टिलेटर समेत बिग्रेको छ।
भेन्टिलेटर ठीक गर्ने बायो मेकानिकसँगको सम्झाैता सकिएकाले भेन्टिलेटर ठीक पार्न समस्या भइरहेको डा. सिंहले बताए। यद्यपि भेन्टिलेटर ठीक गर्नका लागि पहल भइरहेको उनको भनाइ छ।
कोभिड अस्पतालमा धनुषा र महोतरीका ३२ जना कोरोना संक्रमित भर्ना भएका छन्। प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट प्रमोद यादवले पुरानो भेन्टिलेटर बिग्रिएपछि प्रदेश सरकारबाट नयाँ भेन्टिलेटर माग गरिएको जानकारी दिए। मेसु यादवले प्रदेश सरकारबाट भेन्टिलेटर प्राप्त भएलगत्तै प्रयोगमा ल्याइने बताए।
निजी अस्पतालहरुबाट प्रदेशिक कोभिड अस्पतालमा बिरामी आउने क्रम बढेकाले अस्पतालमाथि भार थपिएको मेसु यादवको भनाइ छ। उनका अनुसार प्रादेशिक कोभिड अस्पतालमा ६३ बेड तयारी अवस्थामा छन्। अस्पतालमा आईसीयू १२ र ४१ बेडमा अक्सिजन उपलब्ध छ।
