काठमाडौं – तीव्र रुपमा कोरोना संक्रमण फैलिएसँगै थप ४ जिल्लामा निषेध आदेश जारी भएको छ।
बुधबार इलाम, दोलखा, सिन्धुपाल्चोक र धनुकुटामा निषेध आदेश जारी भएसँगै आवतजावत बन्द भएका जिल्लाहरूको संख्या ५६ पुगेको हो। हालसम्म निषेध आदेश जारी भएका मध्ये ४२ जिल्लामा पूर्ण रुपमा र १४ जिल्लामा आशिंक रुपमा लगाइएको छ।
गृह मन्त्रालयका अनुसार अहिलेसम्म बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बर्दिया, सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा, झापा, गुल्मी, प्यूठान, बाजुरा, उदयपुर, बझाङ, कालीकोट, कपिलवस्तु, नुवाकोट, धनुषा, दैलेख, डोल्पा, डोटी, महोत्तरी, नवलपरासी पूर्व, बैतडी, मुगु, रोल्पा, बारा, सिराहा र नवलपरासी पश्चिम, दोलखा र धनकुटामा जिल्लाभर निषेध आदेश जारी गरिएको छ।
यस्तै गोरखा, मोरङ, काभ्रे, बाग्लुङ, दार्चुला, मकवानपुर, कालिकोट, स्याङ्जा, रामेछाप, ताप्लेजुङ, म्याग्दी, तनहुँ, इलाम र सिन्धुपाल्चोकमा आशिंक रुपमा निषेध आदेश जारी गरिएको छ।
काठमाडौं उपत्यकामा एक साता निषेध आदेश थपिएको छ। वैशाख १६ गतेबाट लागू भएको निषेध आदेश एक साता थप्दै २९ गतेसम्म लम्ब्याइएको छ। मंगलबार बसेको काठमाडौं उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेध आदेश २९ गतेसम्म लम्ब्याउँने निर्णय गरेको हो।
सरकारले पहाडी क्षेत्रमा २०० सक्रिय संक्रमित तथा शहरी क्षेत्रमा ५०० सक्रिय संक्रमित पुगेमा निषाधाज्ञा गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको थियो। सोही अनुरुप विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट दैनिक रुपमा निषेधको आदेश जारी गर्ने जिल्ला बढ्दो क्रममा रहेका छन्।
