बुटवल - कोरोना महामारी बढ्दै गएपछि रूपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख र उपप्रमुखले प्रयोग गर्ने गाडी एम्बुलेन्सका रुपमा प्रयोग हुने भएको छ।
नगर प्रमुख वासुदेव घिमिरे चढ्ने लु१ज ३६० र उपप्रमुख जागेश्वरदेवी चौधरीले चढ्ने लु१झ ३२६ नम्बरको स्कारपियो गाडी कोरोना संक्रमित बिरामी बोक्नका लागि प्रयोग गरिने भएको हो।
अस्पतालसम्म जानका लागि एम्बुलेन्स नपाउने समस्या देखिएकाले आफूहरूले प्रयोग गर्ने गाडीलाई कोरोना संक्रमित बोक्न प्रयोग गर्ने निर्णय गरिएको नगरप्रमुख घिमिरेले बताए। ‘केही दिन हामी साइकलै चढेर हिँडे पनि फरक पर्दैन। सवारीसाधनको अभावमा समयमै अस्पताल वा आइसोलेशन पुर्याउन नपाउँदा नगरबासीको ज्यान जोखिममा नपरोस् भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने।
बिहीबार (आज) नगर प्रमुख र उपप्रमुखले आफूले चढ्ने गाडीको चावी कोरोना फोकल पर्सन केशव भट्टराईलाई हस्तान्तरण गरेका छन्।
कोरोना महामारीको विकराल रुप नहट्दासम्म आफूहरू वैकल्पिक व्यवस्था गरी जनताको सेवामा जुट्ने उपप्रमुख चौधरीले बताइन्। ‘गाडी भएन भनेर हामी घर बस्दैनौं, आफ्नै साधनमा जनताको सेवामा खटिनेछौं,’ उपप्रमुख चौधरीले भनिन्।
संक्रमितलाई अन्य साना सवारीसाधनले सजिलै अस्पताल वा आइसोलेशनमा नपुर्याउँदा समस्या बढ्दै गएको पाइएकोले यो निर्णय गरिएको नगर प्रमुख र उपप्रमुखको भनाइ छ। यी सवारीसाधनलाई समेत २४सैं घण्टा सेवा प्रवाह गर्नेगरी स्टाण्डवाई अवस्थामा राखिने स्वास्थ्य शाखाले जनाएको छ।
तिलोत्तमा नगरपालिकामा रहेका एम्बुलेन्स र एम्बुलेन्सको रुपमा प्रयोग हुने थप दुई सवारीसाधन स्वास्थ्य शाखामार्फत् परिचालित हुनेछन्।
यी सवारीसाधनले मूलतः नगरपालिका भित्रका कोरोना संक्रमितलाई घरबाट अस्पताल वा आइसोलेशन तथा अस्पताल वा आइसोलेशनबाट बिरामीको घरसम्म पुर्याउनेछन्। नगर प्रमुख र उपप्रमुखका सवारीसाधन चलाउने चालक स्थानीय सडक सञ्जालसँग परिचित रहेकोले सेवा प्रवाह थप छिटो छरितो हुने जनाइएको छ।
तिलोत्तमा नगरपालिकाले शंकरनगरमा ४० बेड क्षमताको नेपाल सरकारले तोकेको एक तहको कोरोना अस्पतालको सेवा दिनेगरी आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ। यस्तै वडा नम्बर ९ मा रहेको सभाहलमा थप ६० बेडको आइसोलेशन गराउने गरी काम अघि बढाएको छ।
यस्तै नगरपालिकाले कोरोना संक्रमणको जोखिममा रहेकाहरुको शंकरनगरमा हरेक दिन एन्टिजिन परीक्षण गर्दै आएको छ। आइसोलेशनमा एक जना चिकित्सकसहित नर्सलगायत स्वास्थ्यकर्मी छन्।
तिलोत्तमा नगरपालिकाले विद्यालय नर्स कार्यक्रममा रहेका १२ जना नर्सलाई कोरोना संक्रमितको उपचारमा खटाएको छ। तिलोत्तमामा वैशाख १५ यता कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै जाँदा हालसम्म सक्रिय संक्रमितको संख्या झण्डै १३ सय पुगेको छ।
