धनगढी- पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार कैलालीका चार, कञ्चनपुरका दुई, अछाम, डडेल्धुरा, डोटी, बाजुरा, बैतडीका एक-एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो।
कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर २ का ७२ वर्षीय पुरुष, वडा नम्बर ८ का ५८ वर्षीय पुरुष, गौरीगंगा नगरपालिका वडा नम्बर १ का ३५ वर्षीय पुरुष र गोदावरी नगरपालिका वडा नम्बर ३ का ६४ वर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० का ३६ वर्षीय पुरुष, डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर ३ का ५३ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए।
जिल्ला अस्पताल डोटीको आइसोलेसन कक्षमा उपचाररत आदर्श गाउँपालिका वडा नम्बर २ का ६२ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय डोटीका कोभिड सम्पर्क व्यक्ति तेजबिक्रम शाहीले बताए।
बैतडीको पाटन नगपालिकाका ४४ वर्षीय पुरुषको जिल्ला अस्पताल बैतडीमा उपचारको क्रममा र बाजुराको गौमूल गाउँपालिका वडा नम्बर ३ की ५५ वर्षीया महिलाको जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
बुधबार सेती प्रादेशिक अस्पतालमा उपचाररत ११ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १६ जना उपचारका लागि थपिएको सूचना अधिकारी श्रेष्ठले बताए। अस्पतालमा ५० जना कोरोना संक्रमितको उपचार भइरहेको छ। जसमध्ये तीन जना भेन्टिलेटर, ११ जनाको आईसीयू र २८ जनाको अक्सिजन सपोर्टमा उपचार भइरहेको उनले बताए।
यस्तै महाकाली अस्पतालमा उपचाररत ७ जना कोरोना संक्रमण मुक्त भएर फर्किएका छन् भने ६ जना नयाँ संक्रमित थपिएका छन्। ५३ जना उपचाररत रहेको अस्पतालमा चार जना भेन्टिलेटर र ६ जना आईसीयूमा उपचार भइरहेको अस्पतालका भेक्टर कन्ट्रोल अधिकृत दीपेन्द्रसिंह रावलले बताए।
स्वास्थ्य निर्देशनालयका अनुसार हाल डडेल्धुरा अस्पतालमा ५ जनाको भेन्टिलेटर र ८ जनाको आईसीयूमा उपचार भइरहेको छ। निर्देशनालयका अनुसार जिल्ला अस्पताल दार्चुलामा उपचाररत ७ जना र जिल्ला अस्पताल अछाममा उपचाररत दुई जना कोरोना संक्रमणमुक्त भएका छन्।
