पोखरा- गण्डकी प्रदेशमा नयाँ नियुक्ति पाएर आएकी प्रदेश प्रमुख सीता पौडेल आफ्नो पदबहालीसँगै विवादमा तानिएकी छन्। बुधबार बिहान सेनाको सलामी खाएर उनी प्रदेश प्रमुखको कुर्सीमा बसेकी हुन्। एउटा पनि सरकारी काजगमा हस्ताक्षर गर्न नपाउँदै सञ्चार माध्यममा विवादस्पद अभिव्यक्ति दिएका कारण उनी अहिले विपक्षीको आलोचनाको पात्र बनेकी छिन्।
पदभार ग्रहण गर्दै उनले सञ्चारमाध्यमलाई भनिन्, ‘सभामुखको राजीनामा माग्ने बेला भएन र ?’ लगत्तै उनले प्रदेशसभामा पेश भएको मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावको औचित्य समाप्त भएको समेत बताइन्। उनले गण्डकी प्रदेशमा अहिले चलिरहेको राजनीतिक घटनाक्रमबारे आफूँ पूरै जानकार रहेकोसमेत दाबी गरिन्।
उनको अभिव्यक्तिलगत्तै नेकपा माओवादी केन्द्रका सांसद तथा गण्डकी प्रदेशसभा विकास समितिका सभापति दीपक कोईरालाले सबैले आफ्नो आफ्नो पदमा बस्नुपर्ने बताए। ‘सभामुख पद तपाइँले जस्तै गरी बक्सिस्मा प्राप्त गरेको पद होइन,’ उनले भने, ‘आफ्नो पदको गरिमा कायम राख्नुहोला।’
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रदेश प्रमुख पौडेलको अभिव्यक्ति कार्यकर्ताको भन्दा तल्लोस्तरको भएको टिप्पणी गरे। ‘संविधानको धज्जी उडाएर क्षेत्राधिकारभन्दा बाहिर गएर जुन अभिव्यक्ति आयो, त्यो भर्त्सनायोग्य छ।’ नेपालीले भने।
जनता समाजवादी पार्टीका नेता तथा सांसद हरिशरण आचार्यले २४ घण्टा पनि आफ्नो मर्यादामा बस्न नसेको आरोप लगाए। ‘तपाइँ सम्पूर्ण प्रदेशवासीको अभिभावक हो, यस्तै अभिव्यक्तिले तपाइँलाई कसरी आफ्नो अभिभावक मान्ने ?’ उनले प्रश्न गरे।
पौडेलको अभिव्यक्तिलाई राष्ट्रिय जनमोर्चाले पनि कडा शब्दमा आलोचना गरेको छ। सो पार्टीका गण्डकी प्रदेश संयोजक शंकर बरालले विज्ञप्ति प्रकाशित गरी संवैधानिक व्यवस्थालाई उल्लंघन गरेर एउटा पार्टीको नेता कार्यकर्ता जस्तै सभामुखको राजीनामा माग्नु तथा संसदमा विचाराधीन अविश्वासको प्रस्ताव निष्क्रिय भएको टिप्पणी गर्नु अशोभनीय र खेदजनक भएको बताएका छन्।
विज्ञप्तिमा उनले गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङको सरकारका विरुद्ध आएको अविश्वासको प्रस्तावलाई विफल पार्न ओली तथा स्वयं राष्ट्रपतिसमेत लागिरहेको हुनाले गुरुङको सरकारलाई अविश्वासको प्रस्तावद्वारा हटाउनुपर्ने आवश्यकता झन् बढेर गएको उल्लेख गरेका छन्।
पौडेलको अभिव्यक्तिलाई लिएर विपक्षी पार्टीका अन्य कार्यकर्ताहरुले समेत तीव्र आलोचना गरिरहेका छन्। गत सोमबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अमिक शेरचनलाई हटाएर सीतादेवी पौडेललाई गण्डकी प्रदेशको प्रमुखमा नियुक्त गरेकी थिइन्।
गण्डकी प्रदेश सरकारका विरुद्ध प्रतिपक्षी दलले ल्याएको अविश्वासको प्रस्ताव विचाराधीन रहेकै अवस्थामा प्रदेश प्रमुखको अदलीबदलीलाई राजनीतिक धूर्तताको रुपमा विश्लेषण गरिएको छ।
