सुर्खेत-
घटना : १
वैशाख २० गते कोरोना संक्रमणबाट दैलेखका लालचन्द्र नेपालीको मृत्यु भयो। दुल्लु नगरपालिका १२ गौरीका ४७ वर्षीय उनले स्वास्थ्यमा समस्या देखिएपछि दुल्लु अस्पतालमा पुर्याइयो। कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भयो।
अस्पतालमा अक्सिजन नहुँदा उनलाई जिल्ला दैलेख अस्पतालमा रिफर गरियो। तर जिल्ला अस्पतालमा पनि उपचार सम्भव भएन। उनी छट्पटाउने र चिच्याउने गर्न थाले। त्यो देखेपछि डा. जगतबहादुर थापाले उनलाई कोरोनासँगै मानसिक समस्या भएको भन्दै सुर्खेत लैजान सल्लाह दिए।
तर रकम नभएका कारण परिवारले तत्काल सुर्खेत ल्याउन सकेनन्। ‘बाहिर लिएर उपचार गर्न पैसा थिएन, जिल्लाका अस्पतालले उपचार गरिदिएन’ उनका जेठान बमबहादुर नेपालीले भने, ‘ऋण खोजेर उपचार गर्न सुर्खेत लिने तयारी हुँदै थियो उहाँ (लालचन्द्र)को मृत्यु भयो।’
घटना : २
वैशाख २१ गते बिहान कोरोनाका कारण सल्यानका कुलबहादुर घर्तीको मृत्यु भयो। सिद्धकुमाख गाउँपालिका ३ का ३४ वर्षीय उनले उपचारका लागि अक्सिजन पाउन सकेनन्। अक्सिजन अभाव भएको भन्दै उनलाई जिल्ला अस्पताल सल्यानले सुर्खेतमा रिफर गरेको थियो। तर अक्सिजनसहितको एम्बुलेन्स नभएका कारण प्रदेश अस्पताल सुर्खेत पुग्नेबित्तिकै उनको मृत्यु भयो। ‘जिल्लामा उपचार सम्भव छैन भनेर सुर्खेत रिफर गरिदिएको थियो’, उनका आफन्त नरेन्द्र बोहोराले भने, ‘एम्बुलेन्समा अक्सिजन नहुँदा बाटोमै उहाँ (कुलबहादुर) सिकिस्त हुनुभयो, अस्पताल पुग्नेबित्तिकै मृत्यु भयो।’
घटना : ३
वैशाख २० गते नै कोरोनाका कारण सुर्खेतका प्रेम बिकको मृत्यु भयो। चिङ्गाड गाउँपालिका–२ का २६ वर्षीय प्रेमले उपचारका लागि अक्सिजन पाएनन्।
हप्ता दिनदेखि प्रदेश अस्पताल सुर्खेतमा भर्ना भएका उनको १० मिनेट अक्सिजन अभाव हुँदा मृत्यु भयो।
‘उहाँ (प्रेम)लाई दैनिक चार सिलिण्डर अक्सिजन चाहिन्थ्यो तर शनिबार नेपालगञ्जबाट समयमै अक्सिनज आएन’ प्रेमकी भाउजु कमलाले भनिन्, ‘अघिल्लो दिन पनि थोरै, थोरै अक्सिजन दिइएको थियो, त्यो दिन अक्सिजन सकिएपछि म अर्काे सिलिण्डर लिन बाहिर गएकी थिएँ, अक्सिजन लिन नपाउँदै मृत्यु भयो।’ अक्सिजन नपाएको १० मिनेटमै उनको मृत्यु भएको हो।
लालचन्द, कुलबहादुर र प्रेममात्रै होइन, कोरोना महामारीका कारण कर्णालीमा अक्सिजन नपाएर धेरैले ज्यान गुमाउनुपर्ने अवस्था छ। स्वास्थ्य क्षेत्रमा पनि निकै कमजोर रहेको कर्णालीमा सुर्खेत र जुम्लाबाहेकका जिल्लाहरुमा अक्सिजन हाहाकार भएको छ। अक्सिजन अभावकै कारण करोडौंका आईसीयू र भेन्टिलेटरहरु प्रयोगबिहीन छन्।
अहिले कोरोनाका अधिकांश संक्रमितलाई अक्सिजनको सपोर्ट चाहिएको छ। अक्सिजन बिना जटिल प्रकृतिका संक्रमितहरुको उपचार असम्भव जस्तै भएको छ। अक्सिजन र पूर्वाधार अभावकै कारण जिल्ला अस्पतालहरुले गम्भीर प्रकृतिका संक्रमितलाई सुर्खेत पठाउन थालेका छन्।
‘अस्पतालमा अक्सिजन छैन, गम्भीर बिरामीलाई उपचार गर्न हम्मेहम्मे छ’ जिल्ला अस्पताल सल्यानका डा.प्रदीप शर्माले भने, ‘अक्सिजन अभावकै कारण गम्भीर प्रकृतिका बिरामीलाई सुर्खेत रिफर गर्नुपर्ने बाध्यता छ। सल्यानमा ८ जना डाक्टरहरु छन्। अक्सिजन र नर्सहरु थप भएको खण्डमा झण्डै २०० संक्रमितको उपचार गर्न सम्भव छ। सल्यान जस्तै अन्य जिल्ला अस्पतालहरुको अवस्था पनि उस्तै छ।
प्रदेशमा संक्रमण भयावह हुने संकेतपछि कर्णाली प्रदेश सरकार बल्ल कोरोना प्रतिकार्यमा जुटेको छ। हप्तादिनसम्म निर्णय मात्रै गर्ने प्रदेश सरकारले अस्पतालको जनशक्ति र पूर्वाधारको व्यवस्थापनमा अटिएको छ। ‘महामारी कति बेला आउँछ भन्न सकिदैन तर कर्णाली प्रदेश सरकार कोरोना नियन्त्रणमा जुटिसकेको छ’ प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले भनिन्, ‘स्थलगत रुपमा कोरोना नियन्त्रणको बृहत् प्लान बनाउँदैछौँ।’
संक्रमण उच्च भएपछि प्रदेश सरकारले कर्णालीका सबै अस्पतालहरुमा अक्सिजन प्लान्ट सञ्चालन गर्ने तयारी गरेको छ। अक्सिजन प्लान्ट सञ्चालनका लागि हरेक अस्पताललाई एक–एक करोड बजेट पठाइएको छ।
त्यस्तै कोरोना नियन्त्रणका लागि पाँचौ तहका १५० जना स्वास्थ्यकर्मीहरु भर्ना गर्ने, अघिल्लो आर्थिक वर्षमा करारमा भर्ना गरिएका ५८ जना स्वास्थ्यकर्मीलाई निरन्तरता दिनेलगायतका योनजा बनाएको सरकारले जनाएको छ। ‘कोरोना महामारी नियन्त्रण बाहिर जाने थालिसक्यो, अब निर्णय मात्रै गर्दैनौँ, स्थलगत अध्ययन गरेरै महामारीसँग लढ्छौँ’ मन्त्री केसी भन्छिन्, ‘महामारीबाट प्रदेश सरकार भाग्ने छैन।’
