सुर्खेत-
संक्रमण
चैत ३१ गतेसम्म ३६ जना
वैशाख १-५ गतेसम्म ७९ जना
वैशाख ५-१० गतेसम्म २३१ जना
वैशाख १०-१५ गतेसम्म ९८१ जना
वैशाख १५-२१ गतेसम्म २ हजार ४०० जना
मृत्यु
चैत ३१ गतेसम्म ३१ जना
वैशाख १-५ गतेसम्म ३३ जना
वैशाख ५-१० गतेसम्म ३४ जना
वैशाख १०-१५ गतेसम्म ३८ जना
वैशाख १५-२१ गतेसम्म ६३ जना
संक्रमणमुक्त
वैशाख १-५ गतेसम्म २० जना
वैशाख ५-१० गतेसम्म ३३ जना
वैशाख १०-१५ गतेसम्म ५५ जना
वैशाख १५-२१ गतेसम्म १५२ जना
वैशाख अघिसम्म कर्णाली प्रदेशले कोरोनाको त्रास थिएन। नागरिकहरु स्वस्फूर्त रुपमा हिँडडुल गर्थे। सामाजिक दूरी, मास्कको प्रयोग जस्ता सुरक्षा सावधानीहरु अपनाउन छोडिसकेका थिए। आउजाउ सहथ थियो। कोरोनाको कुनै प्रवाह थिएन। दैनिकी हेर्दा लाग्थ्यो, कर्णालीले कोरोना भुलिसक्यो। कोरोनाको त्रास हटिसक्यो।
तर समय सोचे जस्तो थिएन। छिमेकी मुलुक भारतमा कोरोना डढेलो जस्तै गरी फैलिसकेको थियो। भारतमा देखिएको संक्रमणबाट कर्णाली प्रदेशको छिमेकी जिल्ला बाँके पनि अछुतो थिएन। बाँकेमा पनि संक्रमण विस्तारै बढ्दै थियो।
बाँकेमा खतराको घण्टी बजिरहँदा कर्णाली निदायो। दोस्रो चरणको संक्रमणलाई कर्णालीले ख्यालख्यालमै लियो। पर्याप्त समय हुँदाहुँदै पनि पूर्वतयारीहरु भएनन्। भारतमा संक्रमणले सीमा नाघेपछि नेपालीहरु गाउँ फर्कन थाले। तर गत वर्षको जस्तो गरेर क्वारेन्टिन र आइसोलेसनहरु तयार गरिएन। भारतबाट नागरिकहरु गाउँ पुगेसँगै कोरोना पनि गाउँगाउँमा पुग्यो। परिणामतः ख्यालख्यालमै कोरोनाले कर्णालीमा भयावह रुप लिन थालेको छ।
संक्रमणको दर यसरी फैलिएको छ कि तीन हप्तामै २ हजार ३६४ जना नयाँ संक्रमित थपिएका छन्। कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार हाल प्रदेशभर २ हजार ४०० सक्रिय संक्रमित छन्। चैत मसान्तसम्म कर्णालीमा कुल ३६ जना संक्रमित थिए। तीन हप्तामा बढेर संक्रमितको संख्या २ हजार ४०० पुगेको हो।
तीमध्ये सुर्खेतमा मात्रै १ हजार ३३५, दैलेखमा २३६, जुम्लामा ९, कालिकोटमा १२८, जाजरकोटमा १४३, सल्यानमा ३१६ जना, रुकुमपश्चिममा १९६ जना, मुगुमा ५ जना र डोल्पामा ३२ जना सक्रिय संक्रमित थपिएका छन्।
संक्रमण मात्रै वृद्धि भएको छैन मृत्युदर पनि डरलाग्दो छ। वैशाख अघिसम्म ३१ जनाको मृत्यु भएको कर्णालीमा तीन हप्तामै थप ३२ जनाको मृत्यु भएको छ। कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी नोदनाराण चौधरीका अनुसार पछिल्लो १६ दिनमा कर्णालीमा ३२ जनाको मृत्यु भएको छ।
कोरोनाको दोस्रो लहरका कारण वैशाख ५ गतेदेखि नागरिकको मृत्यु हुन थालेको थियो। कोहीले अक्सिजनको अभाव त कोहीले अस्पताल जानै नपाएर मृत्यु वरण गर्नुपरेको छ। संक्रमणदर अनुसार निको हुनेको संख्या निकै न्यून छ। तथ्यांकअनुसार वैशाखयता संक्रमित भएकामध्ये २६० जना मात्रै संक्रमण मुक्त भएका छन्। संक्रमण र मृत्यु दर उच्च भएकापछि कर्णालीका ९ जिल्लामा निषेध आदेश लागू छ।
