काठमाडौं– नेपालगञ्ज मेडिकल कलेज (शिक्षण अस्पताल कोहलपुर)ले थप कोरोना संक्रमितको उपचार गर्न नसक्ने भएको छ। अक्सिजन सकिएको भन्दै थप कोरोना संक्रमितको उपचार गर्न नसक्ने अस्पतालले जनाएको हो।
‘सबैभन्दा भरपर्दो लिक्विड अक्सिजन ट्याङ्की सकिएको र भारतबाट आउन नसकेकाले यस शिक्षण अस्पतालले हाल उपचार गराइरहेका बाहेक थप कोरोनाका बिरामी भर्ना गर्न असमर्थन रहेको कुरा दुःखका साथ सार्वजनिक रुपमा सबैलाई जानकारी गराउन चाहन्छौँ,’ मेडिकल कलेजका प्रबन्ध सञ्चालक डा. सुरेशकुमार कनोडियाले बुधबार जारी गरेको विज्ञप्तिमा भनेका छन्।
अस्पतालले लिक्विड अक्सिजन ट्याङ्क यथासक्य चाँडो उपलब्ध गराए तुरुन्त कोभिडको ३०० बेड सञ्चालन गर्नसक्ने बताएको छ। अक्सिजन आपूर्तिका लागि अस्पतालले यही वैशाख १९ र २१ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लिखित अनुरोधसमेत गरिसकेको छ।
अस्पतालले संक्रमितको उपचारका लािग १३५ बेड सञ्चालन गरेको छ। हाल अस्पतालमा १३३ जना संक्रमित उपचाररत छन्। अस्पतालसँग ३०० बेड सञ्चालन गर्नसक्ने जनशक्ति र पूर्वाधार छ। त्यहाँ ६०० भन्दा बढी स्वास्थ्यकर्मी कार्यरत छन्।
कोरोना महामारीसँगै ठूलो आर्थिक घाटा पुगेको अस्पतालले जनाएको छ। अस्पताल स्रोतका अनुसार विगत ३ महिनादेखि कर्मचारीहरुले तलब खान पाएका छैनन्। कोरोना महामारी सुरु भएदेखि अस्पतालले हालसम्म ३०३३ जना बिरामीको उपचार गरेको छ। तीमध्ये १२६ जना डिस्चार्ज भएका छन् भने ४४ जनाको उपचारकै क्रममा मृत्यु भएको छ।
यस्तो छ अस्पतालको विज्ञप्ति
