काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य प्रणालीका लागि जनशक्ति सबैभन्दा महत्वपूर्ण पक्ष हुने भन्दै सरकारलाई जनशक्ति व्यवस्थापनका लागि विभिन्न सुझाव दिएका छन्।
ट्विटरमार्फत् सरकारलाई सुझाव दिँदै उनले भनेका छन्, ‘स्वास्थ्य प्रणाली भनेको भौतिक पूर्वाधार र शैया मात्रै होइन, जनशक्ति सबैभन्दा महत्वपूर्ण पक्ष हो। यो राष्ट्रिय विपदमा जोखिम मोलेरै पनि काम गर्न योग्यता र अनुभव भएको स्वास्थ्य जनशक्ति तयार छ।’
यस्ता छन् थापाका सुझाव
१) अत्यन्त अफ्ठ्यारोमा पनि दिनरात नभनि स्वास्थ्यकर्मीहरू २४ सै घण्टा खटिरहेका छन्। अहिले अग्रभागमा लडिरहेका जनशक्तिलाई सुरक्षा र प्रोत्साहन सुविधा उपलब्ध गराउने कुरामा कुनै कन्जुस्याई नगरौं। निजी स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिलाई पनि व्यवस्थापन र सरकारबाट थप सुविधा र सुरक्षा पाउने कुराको सुनिश्चितता गरौं।
२) थप जनशक्तिका सन्दर्भमा अहिले करार वा दैनिक ज्यालादारी काम गर्न आउनुहोस् भनेर मन्त्रालय र अन्तर्गतका निकायले सूचना निकालेर मात्र हुँदैन। सुरक्षा र प्रोत्साहनको प्याकेज बनाऔं र आव्हान गरौं।
यसका लागिः
(क) हाल झण्डै ५ हजार योग्य चिकित्सक पीजीको तयारी गरिरहेका छन्। परीक्षा कहिले हुन्छ भन्ने ठेगान नहुँदा उनीहरू अलमलमा छन्। परीक्षाको तालिका केही महिना पछि सारेर परीक्षाको तयारीका लागि पछि निश्चित समय दिने हो भने त्यो जनशक्तिलाई कोरोना महामारी रोकथाममा परिचालन गर्न सकिन्छ। यसरी जोखिममा काम गर्नेलाई पीजीमा कार्य अनुभवको थप अंक पाउने गरी नियममा विशेष व्यवस्था गरौं।
(ख) एकातर्फ लामो समयदेखि चिकित्सक तथा स्वास्थ्यकर्मीको दरवन्दी पुनरावलोकन हुन सकेको छैन। अर्कोतर्फ सरकारी सेवामा आकर्षण घट्दै गएको छ। सरकारी दरवन्दीको पुनरावलोकन गर्ने, सेवा सुविधा र प्रोत्साहनको प्याकेज बनाउने साथै सरकारी सेवामा प्रवेश गर्न चाहाने चिकित्सक तथा स्वास्थ्यकर्मीको हकमा अहिले महामारी र जोखिममा काम गरेमा विशेष ग्राह्यता दिने संयन्त्र र कानुनी व्यवस्था गरौं।
(ग) हाम्रो स्वास्थ्य प्रणालीमा लामो समय काम गरेर निवृत्व भइ बसेका, अध्ययन सकेर रोजगारीको पर्खाइमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीको योग्यता र अनुभवलाई संकटमा परिचालन गर्न प्याकेज वनाऔं। त्यस्ता जनशक्तिलाई राष्ट्रिय पुलमा समावेश गरी अभाव भएको स्थानमा सही तरिकाले परिचालन गरौं।