काठमाडौं- जेठ ६ गते बागमती प्रदेशमा हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा विपक्षी गठबन्धनले डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाउने भएको छ।
नेकपा एमालेको खनाल-नेपाल पक्षका देवकोटालाई समर्थन गर्दै विपक्षी गठबन्धले उम्मेदवार बनाउने निर्णय गरेको हो।
राष्ट्रियसभाका माओवादी संसदीय दलका नेता दिनानाथ शर्माले देवकोटालाई साझा उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र उपेन्द्र यादवबीचको छलफलबाट देवकोटालाई विपक्षी गठबन्धनको साझा उम्मेदवार बनाउने सहमति भएको थियो।
पार्टी परित्याग गरी एमाले लागेपछि माओवादी केन्द्रले रामबहादुर थापा बादललाई राष्ट्रियसभा सदस्यबाट पदमुक्त गरेको थियो। एमालेले सोही पदमा थापालाई नै उम्मेदवार बनाउने भनेको छ।
तर यसको निर्णय भने भइसकेको छैन। एमालेको वैशाख १० गते बसेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बादल नै उम्मेदवार हुने बताएका थिए। विपक्षी गठबन्धनले थापाको प्रतिद्वन्द्वीका रुपमा देवकोटालाई अगाडि सारेको हो।
नेता दिनानाथ शर्माले राष्ट्रियसभाको अर्को रिक्त स्थानमा नेपाली कांग्रेसको तर्फबाट साझा उम्मेदवार उठाउने सहमति भएको पनि जानकारी दिए।
विकास अर्थशास्त्रमा विद्यावारिधि गरेका देवकोटा वित्तिय संघीयता व्यवस्थापनका विज्ञ मानिन्छन्।
