काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतबाट हवाई मार्ग प्रयोग गरी नेपाल आउने यात्रुका लागि क्वारेन्टिनमा बस्न काठमाडौं उपत्यकाका ८ वटा होटललाई सूचीकृत गरेको छ।
गौशालाका अमादब्लाम होटल, आनन्द आश्रम र रिडर्स इन, ललितपुरको गोदावरीस्थित भ्यु भृकुटी होटल, गुहेश्वरीको माधव होटल, एयरपोर्टको एयरपोर्ट होटल र भक्तपुरको जगातीका फार्म हाउस रिसोर्ट र ए वान रिसोर्ट क्वारेन्टिनका लागि तोकिएका हुन्। यी सबैको कुल बेड क्षमता ४२८ छ।
होटलहरुको विवरण नेपाल पर्यटन बोर्डले आवश्यकताअनुसार अद्यावधिक गरी सरोकारवालाहरुलाई सूचित गर्नेछ। बोर्डले होटल व्यवसायीसँग क्वारेन्टिनका रुपमा प्रयोग गर्न चाहने होटलको सूची माग गरेको थियो। ५० भन्दा बढी होटलको नाम आएकोमा मन्त्रालयले बुधबार ८ वटा होटलको सूची सार्वजनिक गरेको हो।
सरकारले होटल क्वारेन्टिनका लागि शुल्क पनि तोकेको छ। यसअनुसार होटलले प्रतिदिन प्रतिव्यक्ति ३ हजार रुपैयाँ लिन पाउनेछन्। यसमा विमानस्थलबाट होटलसम्मको यातायात, खाना र बास समावेश हुनुपर्छ। नेपाल वायुसेवा निगम र एयर इन्डियाको समन्वयमा नेपाल पर्यटन बोर्डले यात्रुको विवरण लिई यात्रुका लागि होटल क्वारेन्टिनको सहजीकरण गर्नेछ।
त्यसैगरी यात्रु र होटलहरुले स्वास्थ्य मापदण्डको पालना गरे–नगरेको सम्बन्धमा पर्यटन विभागका महानिर्देशक, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत र नेपाल प्रहरीको संयुक्त टोलीले अनुगमन गरी त्यसको दैनिक प्रतिवेदन नियमित रुपमा सीसीएमसी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्रालयमा पेश गर्नुपर्नेछ।
मन्त्रिपरिषदले भारतबाट हवाई उडानमार्फत आउने यात्रुलाई १० दिन क्वारेन्टिन अनिवार्य गर्ने निर्णय गरेको छ।
