काठमाडौं– काठमाडौं उपत्यकाका अस्पतालहरुले कोरोनाका बिरामीसँग चर्को शुल्क असुलेको गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले चासो देखाएको छ।
काठमाडौं मेडिकल कलेज र ह्याम्स अस्पतालले बिरामीसँग प्रतिबेड दैनिक ३० हजार रुपैयाँसम्म लिएको गुनासो आएपछि विभागले चासो देखाएको हो।
विभागका महानिर्देशक प्रकाश पौडेलले उपभोक्ताको गुनासो आएको विषयमा विभागले अनुगमन गरिरहेको बताए। ‘आएका गुनासोबारे हामीले अनुगमन गरिरहेका छौं। केही अस्पतालले ५० हजार रुपैयाँसम्म बेड शुल्क तोकेर सूचना निकालेका रहेछन्। के कारणले त्यति शुल्क तोकेको हो, हामी हेर्छौं र बुझेर आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउँछौं,’ उनले भने।
काठमाडौं मेडिकल कलेजले प्रतिबेड प्रतिदिन ३० जार रुपैयाँसम्म शुल्क लिएको र ह्याम्स अस्पतालले ५० हजार रुपैयाँ शुल्क तोकेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ।
