काठमाडौं - दाङमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्।
रोल्पाको लिवाङबाट घोराहीतर्फ आउँदै गरेको बा१३च ८०४८ नम्बरको जीप मङ्गलबार राति करीब ९ बजेतिर घोराही मुर्कुटी सडक खण्डमा पर्ने घोराही–४ उर्लेकेनी ओरालोमा सडकबाट करीब ८०० मिटर तल खसेर दुर्घटना भएको थियो।
उक्त दुर्घटनामा गाडी चालक घोराही–१६ का अन्दाजी २८ वर्षीय विष्णु गिरीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रहरी नायब निरीक्षक उत्तम जिसीले जानकारी दिए।
दुर्घटनामा तुलसीपुर–१६ का अन्दाजी २३ वर्षीय वसन्त भण्डारी र तुलसीपुर–४ का ३३ वर्षीय राजकुमार थापा घाइते भएका छन्। घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
डोजर मर्मतका लागि रोल्पा पुगेका उनीहरू जीप रिजर्भ गरेर दाङ फर्कंदै गरेका थिए। राति दुर्घटना भए पनि कसैले थाहा नपाएका कारण आज बिहान मात्रै घाइतेहरूको उद्धार गरिएको प्रहरीले जनाएको छ। मृतकको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।
