काठमाडौं - तीव्र रुपमा कोरोना संक्रमण फैलिएसँगै थप सात जिल्लामा निषेध आदेश जारी भएको छ।
मंगलबार रोल्पा, म्याग्दी, मुगु, तनहुँ, बारा, नवलपरासी पश्चिम र सिराहा थपिएसँगै निषेध आदेश जारी भएका जिल्लाहरूको संख्या ५२ पुगेको हो।
आज (बुधबार) राति १२ बजेबाट ६ जिल्लामा र भोलि (बिहीबार) राति १२ बाट दुई जिल्लामा निषेध आदेश लागू हुँदैछ। रोल्पा, बाजुरा, महोत्तरी, म्याग्दी, मुगु र तनहुँमा आज रातिबाट, बारा र सिराहामा भोलि रातिबाट निषेध आदेश लागू हुने गृह मन्त्रालयले जनाएको छ ।
मंगलबार रातिबाट बागलुङ, कपिलवस्तु, नुवाकोट, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेध आदेश लागू भएको छ। हालसम्म ४० जिल्लामा पूर्ण रुपमा र १२ जिल्लामा आंशिक रुपमा निषेध आदेश जारी गरिएकाे छ।
गृह मन्त्रालयका अनुसार अहिलेसम्म बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बर्दिया, सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा, झापा, गुल्मी, प्यूठान, बाजुरा, उदयपुर, बझाङ, कालीकोट, कपिलवस्तु, नुवाकोट, धनुषा, दैलेख, डोल्पा, डोटी, महोत्तरी, नवलपरासी पूर्व, बैतडी, मुगु, रोल्पा, बारा, सिराहा र नवलपरासी पश्चिममा जिल्लाभर निषेध आदेश जारी गरिएको छ।
यस्तै गोरखा, मोरङ, काभ्रे, बागलुङ, दार्चुला, मकवानपुर, कालीकोट, स्याङ्जा, रामेछाप, ताप्लेजुङ, म्याग्दी र तनहुँमा आंशिक रुपमा निषेध आदेश जारी गरिएको छ।
काठमाडौं उपत्यकामा थप एक साता निषेध आदेश थप्ने निर्णय भएको छ। मंगलबार बसेको काठमाडौं उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेध आदेश २९ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। वैशाख १६ गतेबाट लागू भएको निषेध आदेश बुधबारबाट सकिँदै थियो।
सरकारले पहाडी क्षेत्रमा २०० सक्रिय संक्रमित तथा सहरी क्षेत्रमा ५०० सक्रिय संक्रमित पुगेमा निषेधाज्ञा गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको थियो। सोही अनुरुप विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट दैनिक रुपमा निषेधको आदेश जारी गर्ने जिल्ला बढ्दो क्रममा छन्।
