काठमाडौं - कोरोना संक्रमितको संख्या बढेसँगै अक्सिजनको अभावलाई सम्बोधन गर्न सरकारले चीनबाट २० हजार थान अक्सिजन सिलिन्डर ल्याउने भएको छ।
सरकारले विभिन्न मुलुकसँग कूटनीतिक पहलमा ५० हजार थान अक्सिजन सिलिन्डर ल्याउने तयारी गरेसँगै चीनबाट तत्काल २० हजार थान सिलिन्डर ल्याउने भएको हो।
चीनबाट ल्याउने भनिएको सो सिलिन्डर एक सातामा नेपाल आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
‘चीनसँग कूटनीतिक पहल गरी २० हजार सिलिन्डर ल्याउन फास्ट ट्रयाकमार्फत् काम हुँदैछ,’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘अर्को सातासम्म २० हजार सिलिन्डर आइपुग्ने तयारी छ।’
अनुमानित आँकडाअनुसार नेपाललाई तत्काल थप ४० हजार सिलिन्डर आवश्यक देखिएको छ। यद्यपि चीनबाट ल्याउने भनिएको सिलिन्डर शीघ्र आउन सकेमा पनि स्थिति सहज हुने व्यवसायी बताउँछन्।
‘संक्रमितको संख्या र अक्सिजन आवश्यक हुने बिरामीको संख्या बढेका कारण अक्सिजनको मागबारे आकलन गर्न सकिने स्थिति छैन,’ नेपाल अक्सिजन उत्पादक संघ अध्यक्ष गौरव शारडाले भने, ‘देशभरको माग र आपूर्ति मिलाउन हाललाई ४० हजार थान सिलिन्डर चाहिने देखिन्छ।’
देशका ठूला अस्पताल तथा मेडिकल कलेज गरी ३० वटामा आफ्नै अक्सिजन प्लान्ट छन्।
यी अस्पतालले सामान्य अवस्थामा आफ्नो माग धाने पनि अहिले अक्सिजनको माग बढेका कारण ती अस्पताललाई पनि अक्सिजन चाहिने हुन सक्छ।
सामान्य अवस्थामा अस्पतालमा भर्ना भएका कुल बिरामीको एक प्रतिशत जति र अप्रेसन रुपमा अप्रेसन चलिरहँदा अक्सिजन सप्लाइ चाहिने हो।
हाल कोरोनाका बिरामीको चापले गर्दा झण्डै १० प्रतिशत बिरामीलाई अक्सिजन चाहिने अवस्था रहेको विज्ञ बताउँछन्।
देशभर रहेका २० अक्सिजन उद्योगमध्ये उपत्यकाका आठ उद्योगले हाल आठ हजार लिटर अक्सिजन उत्पादन गरिरहेका शारडा बताउँछन्।
‘अरू बेला हाराहारी चार हजार लिटर अक्सिजन उत्पादन हुन्थ्यो,’ उनले भने।
उपत्यका बाहिरका उद्योगको क्षमताअनुसार अक्सिजन उत्पादन हुन नसकेको उनले बताए।
‘उपत्यका बाहिरका १२ उद्योगबाट १७ हजार लिटर अक्सिजन उत्पादन हुन सक्ने भए पनि सिलिन्डर अभावमा चार हजार लिटर मात्र उत्पादन भइरहेको छ,’ उनी भन्छन्।
अक्सिजन उत्पादनमा दिनरात खटिए पनि अक्सिजन उत्पादकलाई सरकारले वास्ता नगरेको धारणा छ, संघका महासचिव नारायण तिमिल्सिनाको।
‘यस्तो कठिन अवस्थामा पनि सरकारले हामीसँग सम्पर्क, संवाद गरेको छैन,’ तिमिल्सिनाले भने, ‘अन्यलाई खोप दिइयो तर अक्सिजन उत्पादनमा खटिने हाम्रा सहकर्मीलाई खोप पनि दिइएन।’
नेपाल अक्सिजन उत्पादनमा आत्मनिर्भर रहेको बताउँदै तिमिल्सिनाले हाल देखिएको कृत्रिम अभाव, सिलिन्डर होल्ड गर्ने प्रवृत्ति, जनताले घरघरमा अक्सिजन जगेडा राख्ने प्रवृत्तिलाई सरकारले कडा नियमन गरी समाधान गर्नुपर्ने तिमिल्सिनाले बताए।
‘हामी आवश्यक उत्पादन गर्न सक्षम छौं र आपतकालीन अवस्थामा काम गर्न तयार पनि छौं,’ तिमिल्सिनाले भने, ‘देखिएका व्यावहारिक समस्या समाधान गर्न हाम्रो मात्र भर परेर हुँदैन। सरकार र सम्बद्ध पक्षको समन्वय चाहिन्छ।’
सरकारले विश्व बैंकले उपलब्ध गराएको ऋणबाट अक्सिजन सिलिन्डर खरिद गर्न लागेको हो।
स्वास्थ्य सेवा विभागले संक्रमण नियन्त्रण गर्न अक्सिजन ग्यास सिलिन्डरबाहेक उपचार र रोग निदानमा प्रयोग हुने पीसीआर, आरएनएलगायतका सामग्री खरिद गर्न द्रुत प्रक्रियालाई अघि बढाइसकेको मन्त्रालयले जनाएको छ।
विश्व बैंकले नेपाललाई कोभिड–१९ नियन्त्रणका लागि सात करोड ५० लाख अमेरिकी डलर ऋण दिएको छ।
