काठमाडौं– नेकपा माओवादी (केन्द्र)ले विश्वासको मत लिने प्रधानमन्त्री केपी ओलीको निर्णयको आशय र उद्देश्य राम्रो नदेखिएको बताएको छ।
पार्टीको आज मंगलबार बसेको स्थायी कमिटी बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘फागुन २३ गते माओवादी र एमाले ब्युँताइदिने सर्वोच्च अदालतको फैसला आएपछि प्रधानमन्त्रीले चैत २३ गतेभित्रै विश्वासको मत लिन भनेका थियौं। त्यतिखेर उहाँले अग्रसरता लिनुभएन। संसदको नियमित अधिवेशन बोलाउनुपर्ने बाध्यकारी अवस्था छ। तर नियमित अधिवेशन बोलाउनुको साटो विशेष अधिवेशन बोलाउने प्रधानमन्त्रीको राजनीतिक आशय र उद्देश्य राम्रो देखिएन। यसमा सचेततापूर्वक ध्यान दिनुपर्ने देखिएको छ।’
वैकल्पिक सरकारको सम्भावना अहिले पनि कायमै रहेको भन्दै पार्टीहरुसँग वार्ता भइरहेको श्रेष्ठले बताए ।
प्रवक्ता श्रेष्ठले लुम्बिनी प्रदेशमा अवैधानिक ढंगले नयाँ प्रदेश सरकार बनाएको घोषणा गर्नु लोकतान्त्रिक मूल्यमान्यता र राजनीतिक नैतिकताको चरम उल्लंघन भएको बताए। प्रदेश संसदमा रहेका विपक्षी पार्टीले चालेको कदमको समर्थन गर्ने निर्णय माओवादीले गरेको उनले बताए।
बैठकले प्रदेश प्रमुखको बर्खास्ती बिनाकारण, बिना औचित्य र जबर्जस्ती भएको भन्दै त्यसलाई निरंकुशताको अभिव्यक्ति भनेको छ। ‘प्रधानमन्त्रीले देशलाई प्रतिगमनमा लैजान एकपछि अर्को कदम चालिरहेका छन्। संविधान र लोकतन्त्रको रक्षाका लागि सबैलाई सचेत र एकताबद्ध रहन अपिल गर्ने निर्णय गरेका छौं,’ उनले भने।
