काठमाडौं– निजी क्षेत्रको असन्तुष्टिका बीच सरकारले मजदुरको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर मासिक १५ हजार रुपैयाँ बनाएको हो। नयाँ पारिश्रमिक आगामी आर्थिक वर्ष (साउन १) देखि लागू हुनेछ।
सोमबार राजपत्रमा प्रकाशित सूचनाअनुसार मजदुरले अब आधारभूत पारिश्रमिक ९ हजार ३८५ र महँगी भत्ता ५ हजार ६१५ सहित १५ हजार रूपैयाँ मासिक पाउनेछन्। यो पारिश्रमिक चिया बगानमा काम गर्ने मजदुरको हकमा भने लागू हुनेछैन।
प्रधानमन्त्री केपी ओलीले मजदुर दिवसको दिन गएको शनिबार पारिश्रमिक वृद्धिको घोषणा गरेका थिए। उद्योगी–व्यवसायीले भने प्रधानमन्त्रीले आफूहरुसँग सल्लाह नै नगरी पारिश्रमिक वृद्धिको घोषणा गरेको भन्दै बढाउन नसकिने बताएका थिए। यसअघि रोजगारदाता, श्रमजीवी तथा सरकारको छलफबाट पारिश्रमिक वृद्धि गर्ने परम्परा थियो।
वृद्धि गरिएको पारिश्रमिकका अतिरिक्त श्रम ऐन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र प्रचलित कानूनबमोजिम श्रमिकले पाउने सञ्चयकोष र उपदानलगायत सुविधा प्रदान गर्नुपर्ने पनि राजपत्रमा उल्लेख छ।


