पोखरा - साेमबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पदमुक्त भएका गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले आफूलाई जानकारी नै नगराई पदमुक्त गरिएको घटनालाई निरंकुशताको निरन्तरता भएको टिप्पणी गरेका छन्। ‘देशमा भ्रष्टाचार, कमिसनतन्त्र र निरंकुशताको निरन्तरता जारी छ, मैले यसरी नै विश्लेषण गरेको छु,’ उनले भने।
पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री र राष्ट्रपतिले आफूलाई अधिकारविहीन खुल्ला जेलबाट बाहिर निकालेकोले खुसी भएको बताए।
नेपालको कम्युनिष्ट आन्दोलनमा ६२ वर्ष बिताएको स्मरण गर्दै शेरचनले अब पनि आफू सक्रिय राजनीतिमा लाग्ने जनाए। उनले राष्ट्रपति, प्रधानमन्त्री तथा मनमोहन अधिकारीको निधनपश्चात नेकपा एमालेको अध्यक्ष पद अस्वीकार गरेको भन्दै आफूमा पदीय मोह नभएको दाबी समेत गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेकै दिन आफूले पदबाट राजीनामा दिन गोजीमा पत्र बोकेर हिँडेको जनाउँदै उनले आफू आबद्ध पार्टीका अध्यक्ष प्रचण्डका कारण रोकिएको बताए। ‘यो सन्दर्भमा प्रचण्डसँग मेरो चित्त दुखाइ छ,’ उनले भने।
