काठमाडाैं - ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले ‘टेलिपरामर्श सेवा’ सुरु गरेको छ। ग्राण्डीले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोभिड-१९ को विषम परिस्थितिमा संक्रमण भएर होमआइसोलेसनमा रहेका तथा कोभिड नभएका दुवैखाले बिरामीलाई लक्षित गरेर टेलिपरामर्श सेवा सुरु गरेको हो।
अस्पतालका महाप्रबन्धक विकासमान सिंहले कोभिड सङ्क्रमण भएर होमआइसोलेसनमा बसेका तथा कोभिड नभएका दुवै खालका बिरामीलाई अनलाइनमार्फत् विशेषज्ञ चिकित्सकीय परामर्श दिनका लागि उक्त सेवा सुरु गरिएको जानकारी दिए।
'उक्त सेवासँगै बिरामीले अनलाइनमार्फत् उपचारको रकम भुक्तानी गर्ने तथा अनलाइनमार्फत् ‘फेस टु फेस’ चिकित्सकसँग कुरा गरेर आफ्नो समस्याबारे बताउन सक्नेछन्', उनले भने। टेलिपरामर्श सेवासँगै बिरामीलाई अस्पताल आउनजान नपर्ने हुँदा सहज हुने उनको भनाइ छ।
ग्राण्डी अस्पतालले पछिल्लोपटक मुलुकभर कोरोना सङ्क्रमण बढेसँगै ५४ शय्यामार्फत् बिरामीको उपचार गरेको छ। जसमा १६ भेन्टिलेटर र १८ आइसीयू रहेका छन्। रासस
