डोटी– डोटीमा वैशाख २१ गते राति १२ बजेदेखि लागू हुने गरी ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ। जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीको सोमबार बसेको बैठकले निषेध आदेश जारी गर्ने निर्णय गरेको डोटीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए।
निषेध आदेश कडाइका साथ लागू हुने पनि खनालले बताए। निषेध आदेशको समयमा अत्याआवश्यक सेवा बाहेकका अन्य यातायातका सम्पूर्ण साधन बन्द गरिने, खाद्यान्नका पसल नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी बिहान ६ बजे देखि ९ बजेसम्म र साँझ ५ बजे देखि ७ बजेसम्म खोल्न पाइने उनले बताए।
दुई नगरपालिका र सात गाउँपालिका रहेको डोटीमा हाल सक्रिय संक्रमितको संख्या दुई सय एक छ। एक सय ८७ जना होम आइसोलेसनमा छन् भने र १४ जनाको सामान्य उपचार भइरहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ। डोटीमा भारतबाट आउनेको संख्या दिनानुदिन बढिरहेको छ। स्थानीयवासीले भारतबाट आउनेको कोरोना परीक्षण गरेर मात्र घर पठाउनुपर्ने माग गर्दै आाएका छन्।
