काठमाडौं– प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसबारेका अफवाहलाई बेवास्ता गर्न र सम्बन्धित चिकित्सकको मात्र कुरा सुन्न अनुरोध गरेका छन्।
कोरोना महामारीले उग्र रुप लिइरहेका बेला साेमबार नेपाल टेलिभिजनमार्फत देशवासीलाई सम्बोधन गरेका प्रधानमन्त्री ओलीले जनस्वास्थ्यका मापदण्ड कडाइको साथ पालना गर्न आग्रह गरे।
'घरमै बसौं, निस्कनै परे अनिवार्य रुपमा सही तरिकाले मास्क लगाऔं। बेलाबेलामा साबुनपानीले हात धोऔं वा स्यानिटाइजरले हात सफा गर्ने गरौं। भोजभतेर तथा पर्व घरमै मनाऔं। भौतिक दूरी कायम गरौं, भीडभाडबाट टाढै बसौं। हल्ला र अफवाहबाट भ्रमित र प्रभावित नहोऔं। चिकित्सक, विज्ञ तथा प्राविधिकहरुको सल्लाको पालना गरौं। धैर्य गरौं, संयमता अपनऔं तर आतंकित नहोऔं,’ प्रधानमन्त्रीको आग्रह थियो।
गत वर्षको लकडाउनमा पालना गरेको अनुशासनले महामारी केही कम भएको तर हेलचेक्र्याइँ बढेपछि फेरि फैलिएको उनको तर्क छ।
यसअघिका सम्बोधनमा कोरोनाबाट बच्न अनेक टिप्स दिने गरेका ओलीले आज भने त्यस्तो कुनै टिप्स दिएनन्। यसअघि हाछ्युँ गरेर कोरोना भगाउन सकिने, बेसारपानी खाए कोरोना चट हुने, अम्बाको पात खाए कोरोनाले छुन पनि नसक्ने बताएर प्रधानमन्त्री आलोचित बनेका थिए।
यसको सुरुवात गत वर्ष वैशाखमा भएको थियो। प्रधानमन्त्री ओलीले मुलुकका सातै प्रदेशका मुख्यमन्त्रीहरुसित जारी बन्दाबन्दी र कोरोना भाइरसको रोकथामबारे भिडियो कन्फ्रेन्सको माध्यमबाट छलफल गर्ने क्रममा कोभिड–१९ बाट बच्न अपनाउनुपर्ने उपायका बारेमा बोलेका थिए।
‘तातोपानी खाने, बाफ लिने गर्यो भने ठीक हुन्छ। चिसोमा बढी जोड नदिने, आइसक्रिमजस्ता कुरा नखाने। तातोपानीले हात धुने, मनतातो पानीले धुने। यो ठूलो विधि हो। भाइरस छ भने तातो पानीले हात धुनेबित्तिकै त्यसको बाहिरी लेयरमा बोसो हुन्छ, त्यो त निर्जीव हो। मर्ने हैन, त्यो समाप्त हुन्छ,’ उनले भनेका थिए।
त्यसपछि उनले ससद् बैठकलाई सम्बोधन गर्दा वा अन्य सम्बोधनहरुमा पनि कोरोनाबाट बच्ने टिप्स दिँदै आएका थिए।
