काठमाडौं- दुबईबाट आएका ५ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ किलो अवैध सुनसहित पक्राउ परेका छन्।
विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले दुबईबाट आएका ५ जनाले अवैध रूपमा लुकाएर ल्याइएको सुनसहित पक्राउ परेको जानकारी दिए।
'५ जनाले छुट्टाछुट्टै स्पिकरको पंखामा लुकाएर ल्याएको भेटिएको हो,’ उनले भने,‘थप अनुसन्धान भइरहेको छ।'
पक्राउ पर्नेमा गुल्मीका जनक खड्का, प्युठानका यमलाल खनाल, नुवाकोटका धनबहादुर तामाङ, सुमित तामाङ र कास्कीका राजु विक रहेका छन्।
खड्का र खनाल एयर अरेबिया, तामाङद्वय हिमालय र विक नेपाल एयरलाइन्समार्फत् नेपाल आएका थिए। उनीहरू पाँचै जनालाई थप कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयको जिम्मा लगाइएको छ।
पक्राउ परेकाहरू सुन तस्करीमा प्रयोग भएका भरिया रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सुन कसको हो भन्ने खुलिसकेको छैन।
पछिल्लो समय विमानस्थलमा चेकजाँच कडा बनाइएपछि तस्करको समूहले वैदेशिक रोजगारबाट फर्कनेहरूलाई सानो–सानो परिमाणमा सुन तस्करी गराउन थालेका छन्।
