काठमाडौं- बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाले थप एक साता निषेध आदेश जारी गरेका छन्। सोमबार प्रजिअ गेलालले वैशाख २७ गते राती १२ बजेसम्मका लागि निषेध आदेश जारी गरेका हुन्।
यसअघि वैशाख १३ गते जारी गरेको निषेध आदेश सोमबार राती १२ बजे समाप्त हुँदैछ। सोमबार राती १२ बजेबाट नै लागू हुने गरी थफ एक साता निषेध आदशको अवधि बढाइएको हो।
कोरोना संक्रमण बढेपछि बाँकेमा सुरु भएको निषेध आदेशका बीच पनि संक्रमितको संख्या बढेको-बढ्यै छ। बाँकेका अस्पतालका शय्या संक्रमितहरूले भरिएकाले बेड नपाएको भन्दै सर्वसाधारणले गुनासो गर्दै आएका छन्।
निषेधाज्ञामा सञ्चालन गर्न पाइने सेवा
स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दूरसञ्चार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाध तथा दुग्ध पदार्थ, औषधि पसल, बैंक एटिएम सेवाजस्ता अत्यावश्यक सेवाका साथै सार्वजनिक निर्माण कार्य, पूर्वनिर्धारित परीक्षा र हवाई एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाल सवारी र निलो (कूटनीतिक प्लेटका सवारी साधनहरू, लामो दुरीका सवारी तथा मालबाहक साधन, निर्माण सामग्री दुवानीका साधन अत्यावश्यक सेवा संचालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारी साधनहरू र अनुमति (पास) प्राप्त सवारी साधनहरू निषेधाज्ञामा पनि संचालन गर्न पाइने छ।
अत्यावश्यक सेवा संचालन गर्नेले अनिवार्य रूपमा कर्मचारी परिचय पत्र एवं अन्य सान्दर्भिक कागजात साथमा राखेको हुनुपर्ने र स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण रूपमा पालना गरेको हुनपर्ने बताइएको छ।
दैनिक उपभोग्य वस्तु (तरकारी, खाध, दुध, ग्यास)का पसल बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने समेत जारी आदेशमा भनिएको छ।
निषेधाज्ञा अवज्ञा गर्नेलाई संकामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ अमोजिम कारबाही हुनेसमेत प्रशासनले प्रष्ट पारेको छ।

