काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहका थप तीन जना सांसदलाई स्पष्टीकरण सोधेका छन्।
अध्यक्षको निर्देशनमा पार्टी कार्यालय सचिव एवम् केन्द्रीय सदस्य शेरबहादुर तामाङले गंगा चौधरी, कलिला खातुन र समीना हुसेनलाई स्पष्टीकरण सोधेका हुन्।
‘उहाँहरूलाई तीन दिनको समय तोकेर स्पष्टीकरण सोधिएको हो,’उनले भने,‘त्यसको जवाफ पनि दिइसक्नुभएको छ।’ तीनै जनाले आफूहरू एमालेमै रहेको जवाफ पठाएका छन्। २७ जना नेताहरूलाई यसअघि इमेलमार्फत स्पष्टीकरण सोधिएकोमा तीन जनालाई भने फेसबुक म्यासेन्जरबाट सोधिएको हो।
‘स्पष्टीकरण सोधिएकाहरूलाई थप कारवाहीको कुनै निर्णय भएको छैन,’ तामाङले भने,‘यसअघि सोधिएका २७ र थप ३ जनासँग नै कुराकानी भइरहेको छ।’ उनका अनुसार अधिकांश सांसदले एमाले हुनेबाहेक अन्य बाटोमा जाँदैन भन्ने बताएको र आफूहरूको विश्वास पनि त्यही रहेको बताए।
‘विश्वासको मतमा एकढिक्का नै हुन्छ। फ्लोर क्रस हुन्न, कर्णालीमा जे भयो भयो। केन्द्रमा त्यो हुँदैन,’उनले भने,‘ त्यसबाट शिक्षा लिएर सबै जना अगाडि बढ्नुपर्छ।’
उनले सबैले पार्टी जोगाउन तर्फ लाग्नुपर्ने भन्दै केन्द्रमा त्यस्तो स्थिति आउँदैन भन्नेमा आफूहरू विश्वस्त रहेको बताए।
