बुटवल - लुम्बिनी प्रदेश विपक्षी दलका महिला सांसदले प्रदेश प्रहरी प्रमुख डीआईजी रवीन्द्र धानुकलाई कारबाहीको माग गरेका छन्।
नवनियुक्त मुख्यमन्त्रीको सपथका क्रममा शान्तिपूर्ण रुपमा विरोधप्रदर्शन गरिरहेको बेला डीआईजी धानुककै संलग्नतामा महिला सांसदमाथि हातपात गर्दै दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गरिएको हो।
महिला सांसहरूले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि डीआईजी धानुकको नेतृत्वमा महिला सांसद निर्मला क्षेत्री, फूलमति ढेगा, लौटी थारु, सुष्मा यादव, पुष्पा थरुनी, गीता थापामाथि हातपात भएको आरोप लगाएका छन्।
‘अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरेलको सपथ रोक्नका लागि हामीहरू धर्नामा थियौं,’ नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले भनिन्, ‘प्रहरी प्रमुख धानुकले महिला प्रहरी प्रयोग नगरी आफै हातपात गर्नुभयो, महिला सांसदहरूको संवेदनशील अङ्गमा हातपात भएको छ, हातपात गर्ने प्रहरी प्रमुख धानुकलाई कारबाहीको माग गर्छौं।’
नेकपा माओवादी केन्द्रका सांसद दामा शर्माले प्रहरी प्रमुखले प्रदेश प्रमुखको कार्यालयमै महिला हिंसा गरेकाले आफूहरूले कानूनी उपचार खोज्ने बताइन्।
कांग्रेसका संसदीय दलका नेता वीरेन्द्र कानौडियाले मुख्यमन्त्रीको सपथ रोक्न धर्नामा बसेका महिला सांसदमाथि प्रदेश प्रहरी प्रमुख धानुकले बल प्रयोग र महिला हिंसा गरेको भन्दै निलम्बन गर्न माग गरेका छन्।
